सडकको लगत कट्टा नहुँदा दैलेखमा जथाभावी घर निर्माण

आश्विन ५, २०७९
सडकको लगत कट्टा नहुँदा दैलेखमा जथाभावी घर निर्माण

सडक निर्माण गरेपछि आसपास निश्चित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाइँदैन । तर दैलेखमा भने पूर्वाधार निर्माणका लागि खनिएका सडकको लगत कट्टा नगर्दा जथाभावी घर बनाउने प्रवृत्ति बढेको छ । सडक क्षेत्रलाई छाड्नुपर्ने जग्गाको लगत २५ वर्षदेखि नकाटिँदा धमाधम पक्की घर निर्माण हुन थाले पनि नियामक निकाय मौन छ ।

दैलेखमा निर्माण गरिएका सडकको लगत कट्टा नहुँदा स्थानीयले जगाभावी घर निर्माण गरिरहेका छन् । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, सुर्खेत-दैलेख सडक र दैलेख-कालिकोट-जुम्ला सडक निर्माण आयोजनाहरुले सडकको मापदण्डअनुसार आसपासको जग्गाको लगत कट्टा नगर्दा जथाभावी घर बनाउने प्रवृत्ति बढेको हो । जथाभावी घर निर्माण भइरहादा पनि स्थानीय सरकारले रोक लगाएका छैनन् । 

सरकारी पक्षले सडक क्षेत्रमा पर्ने जग्गाको लगतकट्टा गर्न ढिलाइ गरेको छ । यही कारण धमाधम घर निर्माण हुँदा भविष्यमा राज्यलाई नै क्षति क्षति हुनसक्छ ।

दैलेखमा ११ वटा मध्ये ८ वटा पालिका सडक सन्जालले जोडिएका छन् । सडक आसपासको तर आफूले भोगचलन नगरेको जग्गाको तिरोसमेत स्थानीयले वर्षौंदेखि तिरिरहेका छन् । सरकारी पक्षको ढिलासुस्ती र स्थानीय तहहरुले क्षेत्राधिकारको कुरा उठाउँदा नागरिकले भने अनावश्यक रकम बुझाउनुपरेको छ ।