पुराना र जीर्ण पुल मर्मतमा सरकार उदासीन

आश्विन ५, २०७९
पुराना र जीर्ण पुल मर्मतमा सरकार उदासीन

दैनिक सवारी आवतजावत हुने राजमार्गका पुल सुरक्षित हुनुपर्ने हो । तर देशभरका २२ सय मोटरेवल पुलमध्ये धेरै जीर्ण छन् । ५ सय पुल निर्माण भइरहेका छन् । जीर्ण बनेका पुलको मर्मतमा चासो दिइएको छैन । वर्षौं पुराना पुलको आयु र भारवहन क्षमताबारे अध्ययनसमेत भएको छैन । यसले राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।

सवारी साधनको अत्यधिक चाप हुने मुग्लिन-नारायणगढ खण्डअन्तर्गतका १५ वटा नयाँ पुलमध्ये ८ वटा मात्रै निर्माणको अन्तिम चरणमा छन् । ४ वटाको काम भर्खरै शुरु भएको छ भने ३ वटाको शुरु नै भएको छैन् । यस्तै, राजमार्ग सञ्चालनको एक दशकमै मधेश प्रदेश र एक नम्बर प्रदेशलाई छोटो दुरीमा जोड्ने देशकै मुख्य बीपी राजमार्गका दर्जनौं पुल खहरेले कटान गरेर जीर्ण भइसकेका छन् । अरनिको राजमार्गअन्तर्गतका दोलालघाटसहित तातोपानी जोड्ने आधा दर्जनभन्दा बढी मुख्य पुल कमजोर अवस्थामा पुगेका छन् । यस्तै लामोसाँघु-जिरी सडकअन्तर्गत खाडीचौर र तामाकोशी पुल जोखिममा छन् । पुष्पलाल राजमार्गको रामेछाप बजारनजिकैको पुल भासिँदै गएको छ । पुराना पुल विस्थापित गर्न भन्दै नयाँ पुल निर्माणको ठेक्का लागे पनि ढिलाइले यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

मुख्य राजमार्गका स्टिलका ट्रसमा खिया लागेर जीर्ण बनेका छन् । यस्तै पुलको क्षमताभन्दा बढी भारवहनका सवारी र मालबाहक साधनले आयु घटाउँदै लगे न यसको नियमित मर्मत भएका छन् । न त नियमन नै । 

राजमार्गका २२ सय पुलको अवस्था अध्ययन, संरक्षण र नयाँ पुल निर्माणको जिम्मा सडक विभागको पुल महाशाखाको हो । तर स्रोत साधनका कारण पुल निर्माण र मर्मत गर्न नसकिएको सडक विभागको दाबी छ । 

राजमार्गका पुल देशका 'लाइफलाइन' हुन् । यिनै पुलको प्रयोग गरेर जिल्ला-जिल्लामा खाद्यान्न लगायतका सामान लिएर मालवाहक गाडी गुड्छन् । दैनिक लाखौं यात्रुले यात्रा गर्छन् । सडकका नाममा अबौं राजस्व उठाउने सरकारले यात्रुको सुरक्षामा भने खेलबाड गर्ने गरेको छ ।