बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाएपछि उद्योगी व्यवसायीको विरोध

आश्विन ५, २०७९
बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाएपछि उद्योगी व्यवसायीको विरोध

निक्षेप बढाउन बैंकहरुबीच ब्याजदर वृद्धिको होड चलेपछि त्यसको मारमा उद्योगी व्यवसायी परेका छन् । बैंकहरुले असोज महिनाका लागि १० प्रतिशतभन्दा माथि आधार दर तोकेका छन् भने साढे ४ प्रतिशत स्प्रेड दर छ । जसले गर्दा बैंकको ब्याज १४ प्रतिशत माथि पुगेको छ ।

नेपाल बैंकर्स संघमा चैतमा भएको भद्र सहमति तोड्दै बैंकहरुले असोजका लागि नयाँ ब्याजदर तोके । अहिले अधिकांस बैंकले मुद्धती निक्षेपमा १२ प्रतिशतभन्दा माथि ब्याज दिने घोषणा गरेका छन् । निक्षेपसँगै कर्जाको व्याज दर पनि स्वतः बढेको छ । अघिकांस बैंकले असोजका लागि आधार दर अर्थात् वेस रेट १० प्रतिशत तोकेका छन् भने स्प्रेड दर साढे ४ प्रतिशत हुादा कर्जाको ब्याज दर साढे १४ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा साना उद्योगी मारमा परेका छन् । 

निक्षेप तान्नकै लागि बैंकहरु ब्याज दर बढाउने होडमा लागेपछि त्यसको असर समग्र अर्थतन्त्रमै पर्न सक्छ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडाइ गरिरहेका बेला बैंकको ब्याजदर वृद्धि हुँदा अर्थतन्त्र संकुचनतर्फ जाने देखिन्छ । 

पछिल्लो एक वर्षयता वित्तीय क्षेत्रमा तरलता अभाव छ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा एक सय खर्ब र चालु आर्थिक वर्षको हालसम्म १६ खर्ब रुपैयाँभन्दा बढी स्थायी तरलता सुविधा प्रदान गरिसकेको छ । तरलता व्यवस्थापन गर्न बैंकहरुले ब्याजदर बढाएको बुझाइ कतिपयको छ ।

गत वर्ष नेपाल राष्ट्र बैंकले एक पटकमा १० प्रतिशतले नबढ्ने गरी ब्याजदर परिवर्तन गर्न सकिने व्यवस्था गरेको थियो । त्यही व्यवस्था बमोजिम बैंकहरुले नयाँ ब्याज दर कायम गरे पनि १२ दशमलव १३ प्रतिशतसम्म पुगेको हो । तर अहिले बैंकहरुले आधार दर नै परिवर्तन गर्दा नयाँ कर्जा लिनेहरुले १४ प्रतिशत तिर्नुपर्ने भएको छ । यसले उत्पादित वस्तुको लागत बढेर मूल्य वृद्धि हुने जोखिम उत्तिकै छ ।