सुदूरपश्चिममा डाक्टर केसी अनसनमा स्थानीयको पनि साथ

आश्विन २, २०७९
सुदूरपश्चिममा डाक्टर केसी अनसनमा स्थानीयको पनि साथ

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसी पछिल्लो ६ दिनदेखि कैलालीको धनगढीमा  सत्याग्रमा बसेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै धनगढीको कृष्णमन्दिर धर्मशालामा सत्याग्रह वसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि चार दिन देखि सेती प्रादेशिक अस्पतालमा भर्ना गरीएको छ । सुदूरपश्चिमका जनताले सस्तो सुलभ रुपमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पहुँच सुनिश्चितका लागि २० औं पटक सम्म सत्याग्रह गर्दा समेत सरकारले बेवास्ता गरेकाले केसी प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्न बाध्य भएका हुन् ।

कैलालीको गेटामा ६ वर्षअघि ८ अर्ब ३३ करोड रुपैयाँको लागतमा मेडिकल कलेज निर्माण गर्न थालिएको थियो । अहिलेसम्म अस्पताल, कलेज र प्रशासनिक भवनको काम सकिएको छ । अन्य भौतिक निर्माण कार्य पनि अन्तिम चरणमा छ । तर  सञ्चालन मोडालिटिवारे सरकारले कुनै निर्णय गरेको छैन । गेटा मेडिकल कलेज तत्काल सञ्चालन हुनुपर्ने लगायतका ६ बुँदे माग राख्दै कैलालीको धनगढीमा डाक्टर केसीको सत्याग्रह जारी छ ।  

गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक अधिकार हो । तर केसीसाग भएका पटक पटकको सहमति सम्झौता कार्यान्वयन हुन सकेको छैन । 

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानियले पनि डाक्टर केसीको मागप्रति एकेवद्धता जनाएका छन् । सरकारले सत्याग्रही केसीले राखेका चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका मागप्रति गम्भिर नभए स्थानीयले समेत थप आन्दोलन थाल्ने चेतावनी दिएका छन् । 

सुदुरपश्चिमसहित देशभरको सरकारी स्वास्थ्य संस्थाहरुको अवस्था नाजुक छ । स्तरीय स्वास्थ्य सेवाको अभावमा ग्रामिण भेगका र गरिव विपन्नले अहिले पनि अकालमा मृत्युवरण गर्न परिरहेको छ । अर्कोतिर कतिपय विरामीहरु महंगो शुल्कमा निजि अस्पताल र देश वाहिर उपचारका लागि जान बाध्य छन् ।