शिक्षक लाइसेन्स परीक्षामा ८२ प्रतिशत फेल

आश्विन १, २०७९
शिक्षक लाइसेन्स परीक्षामा ८२ प्रतिशत फेल

सामुदायिक विद्यालयमा शिक्षक बन्न शिक्षक लाइसेन्स परीक्षा अनिवार्य पास हुनुपर्छ । तर, शिक्षक सेवा आयोगले लिएको अध्यापन अनुमतिपत्रको परीक्षामा ८२ प्रतिशत परीक्षार्थी फेल भएका छन् । यसले नेपालको शिक्षा प्रणाली, गुणस्तर र विद्यार्थीको सिकाइ उपलब्धि माथिनै गम्भीर प्रश्न उठाएको छ ।

लाइसेन्स परीक्षा पास गरेकाहरु मात्रै शिक्षकको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा १ लाख ८१ हजारमध्ये ३३ हजार अर्थात् १८ प्रतिशत मात्र पास भए । सबैभन्दा बढी वाग्मती प्रदेशमा २४ प्रतिशत् अर्थात् ६ हजार ५ सय १९ पास हुँदा सबैभन्दा कम मधेस प्रदेशमा १० प्रतिशत अर्थात् २६ सय ५७ परीक्षार्थी उत्तीर्ण भए । माध्यमिक तहको लाइसेन्स परीक्षामा भने ३९ प्रतिशत पास भएका छन् । भविष्यका शिक्षक बन्न योग्यका लागि लिइएको परीक्षामा धेरै विद्यार्थी फेल हुनु गम्भीर विषय भएको आयोगको बुझार्इ छ । 

एसईई परीक्षामा सबैभन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थीको रोजाइ शिक्षाशास्त्र हुने गरेको छ । अरु विषय पढ्न नपाउनेहरु शिक्षामा जाने गरेको पाइन्छ । त्यसमाथि पछिल्ला वर्षहरुमा शिक्षक लाइसेन्सका तयारी कक्षा सञ्चालन भएका छैनन् । कमसल शिक्षक त्यसमाथि शिक्षण सिकार्इ प्रभावकारी नहुनु र विद्यार्थीमा पठन संस्कृति कमजोर हुनु लगायतका कारणले लाइसेन्स परीक्षामा धेरै फेल भएको हुनसक्ने विज्ञको बुझार्इ छ ।

त्यसो त शिक्षक लाइसेन्स परीक्षा नलिएको पनि तीन वर्ष भइसकेको थियो । तर लामो समयपछि परीक्षा लिँदा पनि पास हुनेहरु न्यून हुनुले शिक्षाको गुणस्तरमा प्रश्न उठेको छ । शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको सिकार्इ उपलव्धि वृद्धिका लागि शिक्षा नीतिमै परिमार्जन गरी उत्कृष्ट विद्यार्थीको रोजाइमा शिक्षाशास्त्रलाई पार्ने वातावरण तयार गर्न गर्नुपर्ने देखिन्छ ।