अर्थतन्त्र खुम्चदै गएको भन्दै आयातमाथिको प्रतिबन्ध हटाउन निजी क्षेत्रको माग

भाद्र २६, २०७९
अर्थतन्त्र खुम्चदै गएको भन्दै आयातमाथिको प्रतिबन्ध हटाउन निजी क्षेत्रको माग

सरकारी कडाईका कारण नेपालको अर्थतन्त्र झनै खुम्चँदै गएकाले आयातमाथिको प्रतिबन्ध हटाउन निजी क्षेत्रले सरकारलाई आग्रह गरेका छन् । वैदेशिक मुद्राको सञ्चिति घटेको भन्दै सरकारले आयातमा गरेको कडाईप्रति निजी क्षेत्रको असन्तुष्टि छ । निर्यात एकै पटक नबढ्ने र एकै पटक आयात प्रतिस्थापन पनि गर्न नसकिने उल्लेख गर्दै व्यवसायीहरुले आयात प्रतिबन्धले नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रनसक्नेतर्फ सचेत गराए ।

आयात प्रतिबन्ध सरकारले भन्दा पनि राष्ट्र बैंकले गरेको निजी क्षेत्रको आरोप छ । तर राष्ट्र बैंकले भने कानुनी रुपमै विदेशी विनिमय संरक्षणको जिम्मा पाएकाले सरकारलाई वैदेशिक मुद्रा सञ्चितिबारे जानकारी मात्रै दिएको दावी गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले आयात प्रतिबन्ध विरामी अवस्थामा दिने सिटामोलजस्तै भएको बताए । 

निजी क्षेत्रमा प्रतिनिधिले नेपालले विश्व व्यापार संगठनको सदस्य भएर पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका थिए ।