कोरोना र डेङ्गीसँगै थपियो कालाजार र स्क्रब टाइफसको जोखिम

भाद्र २४, २०७९
कोरोना र डेङ्गीसँगै थपियो कालाजार र स्क्रब टाइफसको जोखिम

पछिल्लो समय धेरै मानिसलाई उच्च ज्वरोको समस्या देखिएको छ । ज्वरोसँगै टाउको, शरीर र पेट दुख्ने लगायतका समस्या लिएर अस्पताल पुग्नेहरु पनि धेरै भेटिन्छन् । यस्ता समस्या लिएर अस्पताल पुग्ने धेरैमा डेंगुको संक्रमण देखिने गरेको छ । त्यसबाहेक केहीमा स्क्रब टाइफस, कालाजार, मलेरियालगायतका किटजन्य रोगको संक्रमण पनि देखिने गरेको चिकित्सक बताउँछन् ।  

नेपालमा साउन १६ गते यता मुसामा पाइने किर्नाको संक्रमणबाट हुने स्क्रब टाइफसका ५ सय ८४ जना संक्रमित भेटिएका छन् । यसैगरी भुसुनाको टोकाइले हुने कालाजारबाट ३० जना संक्रमित भएका छन् भने ७५ जनामा लामखुट्टेको टोकाइबाट मलेरिया पुष्टी भएको इपिडिमियोल‍ोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यता यो सिजनमा मात्र ४५ जनामा जापानिज इन्सेफलाइटिसको समस्या देखिएको छ । यसको संक्रमणबाट ३ जनाको त मृत्यु नै भइसकेको छ । यस्तै डेढ महिनामा ५८ सय २२ जनामा डेंगु संक्रमण देखिएकोमा ४ जनाको मृत्यु भएको छ । किट जन्य रोगको संक्रमण बढ्दै गए पनि सरकारले नियन्त्रणमा खासै ध्यान दिएको पाइँदैन । नेपालमा प्रत्येक वर्ष वर्षातको समयमा कीटजन्य रोगको जोखिम बढ्ने गरेको पाइन्छ । अझ यो वर्ष त केही व्यक्तिको ज्यानै गइसक्दा पनि नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्न सकेको देखिँदैन ।