कक्षा १२ को निराशाजनक नतिजामा यी हुन् कारण

भाद्र १९, २०७९
कक्षा १२ को निराशाजनक नतिजामा यी हुन् कारण

कक्षा १२ को हिजो प्रकाशित नतिजामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए । नतिजा खस्कनुमा कोभिड महामारीले पठनपाठनमा पारेको प्रभाव, विषयगत शिक्षकको अभाव र सरकारले स्थायी शिक्षकको व्यवस्था गर्न नसक्नु मुख्य कारण रहेको शिक्षाविद्हरुले औंल्याएका छन् । सिकाई उपलब्धी र मूल्यांकनमा सुधार गर्नुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् । 

विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा ३ लाख ६३ हजार ८ परीक्षार्थीमध्ये १ लाख ८८ हजार ४ सय १० अर्थात् ५२ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यालय शिक्षामाथि गम्भीर प्रश्न उव्जिएको छ । अझ सामुदायिक विद्यालयमा त ३० प्रतिशतको हाराहारीमा मात्र उत्तीर्ण भएका छन् । कक्षा १२ को नतिजा यसपटक यतिधेरै बिग्रनुमा कोभिडको प्रभाव र विषयगत शिक्षकको अभाव मुख्य कारण मानिएको छ । 

सरकारले सामुदायिक विद्यालयमा अहिलेसम्म दरबन्दीका एक जना पनि स्थायी शिक्षकको व्यवस्था गर्न सकेको छैन । अर्कोतिर विद्यालयहरु स्थानीय तह मातहतमा गएपछि कुनै पनि निकायले अनुगमन गरेका छैनन् । एकले अर्कालाई देखाएर पन्छिने काममात्र भइरहेको छ । दरबन्दीका शिक्षक नभएपछि विद्यालयले जेनतेन आन्तरिक व्यवस्थापनका भरमा कक्षा चलाइरहेका छन् । सबैभन्दा बढी अँग्रेजीमा १ लाख १ हजार र नेपालीमा ३२ हजार ४ सय ९५ विद्यार्थी फेल हुनुले विषयगत शिक्षकको अभाव देखाएको छ । शिक्षकले उपयुक्त शिक्षण विधि थाहा नपाउादा सिकार्इ उपलव्धि र मूल्यांकनमा धेरै विद्यार्थी कमजोर देखिएकाले यसमा तत्काल सुधार आवश्यक रहेको विज्ञको बुझाइ छ । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा शिक्षकहरुमै कमजोरी देख्छन् । कक्षाकोठाबाटै शिक्षकले सुधार सुरु गर्नुपर्ने उनको भनाइ छ। 

विद्यालय शिक्षा र सिकार्इ उपलव्धी सुधारका लागि व्यवस्थापकीय पक्ष राम्रो हुनुपर्छ । शिक्षकहरु पनि पेशा र विद्यार्थीको पढार्इप्रति उत्तरदायी र इमान्दार बन्नु पर्छ । संघ, प्रदेश र स्थानीय सरकारले खस्किादै गएको विद्यालय शिक्षा सुधार गर्न गम्भीर हुनु जरुरी छ ।