विदेशमा एमडी हासिल गरेको दाबी गर्दै परेका समकक्षता निवेदनमा त्रिविको कडाई

भाद्र १, २०७९
विदेशमा एमडी हासिल गरेको दाबी गर्दै परेका समकक्षता निवेदनमा त्रिविको कडाई

विश्वका अन्य मुलुकमा पुगेर विश्वविद्यालयको शैक्षिक उपाधि हासिल गरेर आएका विद्यार्थीको प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालयले मान्यता दिने गरेको छ । तर पछिल्लो समय विदेशमा पुगेर विश्वविद्यालयको शैक्षिक कोर्ष पुरा नगरी स्वास्थ्य संस्थामा तालिम लिएकै भरमा चिकित्सा शिक्षाको विशेषज्ञ चिकित्सकको शैक्षिक उपाधि हासिल गरेको दाबीसहित समकक्षताको निवेदन दिने बढेका छन् । यसले जनस्वास्थ्यमै गम्भीर असर पर्ने सक्ने भन्दै त्रिभुवन विश्वविद्यालयले त्यस्ता विद्यार्थीको समकक्षतानै रोकिदिएको छ ।

विश्वविद्यालय वा मेडिकल कलेजबाट चिकित्सा शिक्षामा स्नातकोत्तर तह एमडी पुरा गरेकाहरुले विशेषज्ञ चिकित्सकको उपाधि पाउँछन् । तर पछिल्लो समय फिलिपिन्सलगायत केही देशबाट विश्वविद्यालयको शैक्षिक कोषको सट्टा मेडिकल सेन्टरबाट तालिम लिएकै भरमा चिकित्सा शिक्षामा स्नातकोत्तरको समकक्षता लिन आउने क्रम बढेको छ । यसले विश्वविद्यालयबाट अध्ययन पूरा गरेर आएकाहरुलाई मर्का पर्ने मात्र नभएर जनस्वास्थ्यमाथि पनि असर पर्न सक्ने भन्दै त्रिभुवन विश्वविद्यालयले त्यस्ता विद्यार्थीको समकक्षता दिन रोकेको छ ।

विदेशी बोर्डको शैक्षिक कोष पुरा नगरी तालिमकै भरमा स्नातकोत्तर तहको समकक्षताका लागि निवेदन दिनेको संख्या सयभन्दा बढी छ । विदेशको विश्वविद्यालय वा मेडिकल सेन्टरबाट तालिम लिएर आएकाहरुलार्इ नेपाल मेडिकल काउन्सिलले भने चिकित्सक दर्ता परीक्षामा सहभागी गराउने गरेको छ । परीक्षामा पास भएका त्यस्ता विद्यार्थीलार्इ विशेषज्ञ सरह प्रमाणपत्र दिने गरेको छ ।

त्यसो त विश्वविद्यालयले परराष्ट्र मन्त्रालयमार्फत् सम्वन्धित देशका विश्वविद्यालयसँग यसबारे बुझ्न पत्राचार गरे पनि जवाफ आएको छैन । त्रिभुवन विश्वविद्यालय र मेडिकल काउन्सिलको फरक–फरक नीतिका कारण विद्यार्थीमा भने अन्योल देखिएको छ ।