दोलखामा भैरव–कुमारी जात्राको रौनक

भाद्र १, २०७९
दोलखामा भैरव–कुमारी जात्राको रौनक

ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक स्थल दोलखामा अहिले जात्राको रौनक छ । गाईजात्राको भोलिपल्टबाट सुरु हुने परम्परागत भैरवकुमारी जात्रा निरन्तर चलिरहेको छ । भैरवकुमारी जात्रा युद्धको शैलीमा वाजा गाजासँगै नाचिन्छ । भैरव र कुमारीसहित दोलखाको टोल, डवलीमा नाचेर पाँच दिनसम्म मनाईने यो जात्रा पौराणिक कथामा आधारित छ ।

अघिअघि सेना र पछिपछि भैरव र कुमारी आ-आफ्नै भूमिकाअनुसार नाच्दै हिँडेको रोचक दृष्य र प्राचीन युद्ध कला कौशल हेर्न दोलखामा यतिखेर बाक्लै चहलपहल  छ । युद्धको शैलीमा वाजा गाजासहित भैरव र कुमारी सहित ३२ जना दोलखाको टोल, डवलीमा नाचेर मनाईने जात्रा जाइजात्राको भोलिपल्टबाट पाँच दिनसम्म मनाईन्छ । मनोकांक्षा पुरा हुने जनविस्वासमा ब्रत बस्ने र भैरव कुमारी नाचको दर्शन गरेपछि रातमा प्रसाद ग्रहण गर्ने चलन छ ।

कुमारी रिसले मानव संहार गर्छु भन्ने आशयले अगाडि बढ्दा भैरवले उनको बाटो छेक्दै छेक्दै नाचेको अभिनय जात्राको मुख्य आकर्षण हो । 

पाँच दिनसम्म युद्धको शैलीमा देखाइने यो जात्रा मध्यरातमा निकाल्ने चलन छ । यो जात्रा दोलखाको एतिहासिक र पाँच सय वर्ष पुरानो मानिन्छ । दोलखाको राजकुलेश्वर, भीमेश्वर लगायतका टोल, डवली र मन्दिर घुमेर पुनः कुमारी घरमा पुगेपछि जात्रा समापन हुने गरेको छ ।