बुटवलमा मुख्य सडक विस्तारको काममा चरम लापरवाही

भाद्र १, २०७९
बुटवलमा मुख्य सडक विस्तारको काममा चरम लापरवाही

साढे ३ किलोमिटर लामो चार लेनको सडकलाई ६ लेनको बनाउन कति समय लाग्ला ? १ वर्ष, २ वर्ष वा ३ वर्ष । बुटवलको मुख्य सडक विस्तारको काम भने ६ वर्ष बित्दासम्म बनेको छैन ।

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक यस्तै भताभुंग भएको ठ्याक्कै ६ वर्ष पुग्यो ।  २०७३ साल चैत १२ गते साढे तीन किलोमिटर लामो सडक ३० महिनामा विस्तार गरिसक्ने गरी काम सुरु भएको थियो । तर, ६ वर्ष पुग्दासम्म १० प्रतिशत काम मात्रै भएको छ । 

भत्किएको सडकमा हिउँदभर धुलो उढ्छ भने वर्षातका बेला हिलाम्मे हुन्छ । खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उत्तिकै बढाएको छ । भत्काएर लथालिङ्ग पारिएको सडकमा पैदलयात्री हिँड्नसमेत कठिन छ ।

सुरुमा स्थानीयले सडक क्षेत्र नछोड्दा काम रोकिएको थियो । तर पछिल्लो समयमा ठेकेदारले काम नै नगर्दा पूरा हुन सकेको छैन । निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभी कन्सट्रक्सनले समयमा काम नगर्दा निर्माण लागत ४५ करोडबाट बढेर ५३ करोड पुगेको छ । 

२०७५ साल वैशाख १२ मा अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थपिएको थियो । त्यसपछि पनि पटकपटक म्याद थपेर २०७९ असार मसान्तसम्म पुर्‍याइयो । तर काम पूरा नभएपछि ठेक्का सम्झौता खारेज गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने आवाज उठिरहेका बेला बेलहिया-बुटवल सडक विस्तार आयोजनाले ठेकेदारको म्याद थप्ने प्रक्रियामा लागेको छ । 

निर्माणाधीन सडक पूर्व-पश्चिम महेन्द्र राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्ग दुवैमा पर्छ । प्रदेशको अस्थायी मुकाम, व्यापारिक केन्द्रलगायतका कारण सधैं व्यस्त रहने सडक निर्माणमा भएको यो लापरबाही कहिलेसम्म रहने हो ? निर्माण कम्पनीलाई बारम्बार म्याद थप्ने कि छिटो काम सकेर नागरिकलाई सुविधा दिने हो ? बुटवलवासीको प्रश्न छ ?