संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेश सरकार आन्दोलनमा

श्रावण ३०, २०७९
संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेश सरकार आन्दोलनमा

संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन शुरु गरेको छ । प्रदेश प्रमुखको निवास अघि मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु धर्नामा बसेका हुन् । केन्द्र सरकारको ढिलासुस्तीका कारण प्रहरी ऐन निर्माण हुन नसक्दा प्रदेश सरकारहरुले प्रहरी समायोजनमा समस्या खेप्न परेको छ ।

धर्नामा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू सहभागी छन् । एक साताअघि प्रदेश प्रमुखमार्फत संघीय सरकारलाई ध्यानाकार्षण पत्र पठाएका प्रदेश सरकारले आन्दोलनको पहिलो चरण अन्तर्गत सात दिनसम्म धर्ना दिने कार्यक्रम तय गरेका हुन् ।  संविधानले दिएको अधिकार संघीय सरकारले हस्तान्तरण गर्न गम्भिर नरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

धर्ना कार्यक्रम एक सातासम्म दिनहुँ बिहान ११ बजे देखि १ बजेसम्म जारी रहने छ । यस अबधिमा पनि प्रहरी समायोजनका प्रक्रिया नथालिए दोस्रो चरणको आन्दोलन गर्न बाध्य हुने उनीहरुको चेतावनी छ । 

प्रदेश मातहतमा रहेर शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन मधेश प्रदेश सरकारले ४ वर्षअघि नै प्रहरी ऐन बनाएको थियो । दबाबमा संघ सरकारले पनि प्रहरी समायोजन ऐन ल्याएको साढे दुई वर्ष बित्न लागेको छ । प्रहरी समायोजनका लागि प्रधानमन्त्रीदेखि सबै दलका शीर्ष नेताहरूलाई ध्यानकर्षण गराएपनि कार्यान्वयनमा आएको छैन ।  

संविधानको धारा २ सय ६८ ले प्रदेश प्रहरीको सङ्गठन व्यवस्थापन  गरेको तथा संविधानकै अनुसूची ६ को क्रम सख्या १ मा शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूची भित्र उल्लेख रहने व्यवस्था गरेको छ ।