गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक पर्सिसम्म स्थगित

श्रावण २९, २०७९
गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक पर्सिसम्म स्थगित

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भैसकेकोले संसदले बाँकी काम दिनरात नभनेर गर्नुपर्ने बेला हो यो । तर आइतबार प्रतिनिधिसभा बैठकमा एक सयभन्दा धेरै सांसद हाजिर गरेर भागे । 

जसका कारण गणपुरक संख्यालाई लिएर तीनपटक नियमापत्ति जनाउनुपर्ने अवस्था आयो । कुल २ सय ७५ मध्ये  आइतबार संसदको हाजिरीपुस्तिकामा १ सय ७९ जना उपस्थित भएको देखिन्छ । तर सभामुखले खोजेर गणना गर्दा एकतिहाइ अर्थात ७९ जना पनि भेटिएनन् । त्यसले पारित गर्नुपर्ने विधेयक मात्र रोकिएन मंगलबारसम्मका लागि बैठक नै स्थगित गर्नुपर्यो ।प्रतिनिधिसभाको जारी ११ औं अधिवेशनमा सांसदहरुको उपस्थितिलाई लिएर १६ पटक प्रश्न उठाइएको छ । त्यस मध्ये सातवटा  बैठक गणपुरक संख्या नपुगेकै कारण स्थगित भएका छन् । जनताबाट निर्वाचित सांसदले आफ्नो जिम्मेवारी निर्वाह नगर्दा  पारित गर्न ठिक्क पारिएको विधेयक समेत रोकिएका छन्। सरकार र विपक्षी दलको राजनीतिक टकरावले पनि संसदमा उपस्थिति कम हुने प्रवृतिलाई सघाएको छ। चुनावको चटारो र यो संसदको कार्यकालको अन्तिम समय भएकाले पनि सदनमा उपस्थिति कम देखिन थालेको सत्ता पक्षकै स्वीकारोक्ति छ । तर एमालेका सांसदहरु उपस्थित नै नहुने र सदनलाई असहयोग गर्ने प्रवृति बढेको सत्ता पक्षको आरोप छ । सदनमा सांसदको उपस्थिति कमजोर हुँदा सरकारका काम कारवाहीमै प्रभाव परेको छ । तर सरकार भने हाजिर गरेर हिड्ने र उपस्थित नहुनुमा स्वय‌ं दलहरु जिम्मेवार हुनुपर्ने भन्दै पन्छिन्छ । २०७४ फागुन २१ गतेदेखि ०७९ असार मसान्तसम्मको यो अवधिमा तीन सय दिन संसद बैठक बस्दा गणपुरक संख्या नपुगेको मात्रै हैन, मुख्य दलका शीर्षनेताहरु नै संसदमा सबैभन्दा कम उपस्थिति भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा ८० दिन पनि संसदमा उपस्थित भएका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आधाभन्दा कम एक सय पाँचवटा बैठकमा गएका छन् । संसदको पाँच बर्षे कार्यकाल सकिन करिब तीन महिना मात्रै बाँकी छ । अहिले पनि ५० भन्दा बढी  विधेयक विचाराधिन छन् । शीर्ष नेताहरु नै बैठकमा नजाने र गएका सांसद हाजिर गरेर टाप कस्ने प्रवृतिले संसदकै अपमान गरेको छ ।