सल्यानमा सरकारी स्वास्थ्य संस्थाबाट सेवा पाउनै मुस्किल

श्रावण २९, २०७९
सल्यानमा सरकारी स्वास्थ्य संस्थाबाट सेवा पाउनै मुस्किल

ग्रामिण क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवा पाउन सधै मुश्किल हुने गरेको छ । सल्यानमा कतै स्वास्थ्यकर्मी छन्, भवन छैन । कतै अस्पतालको संरचना छ तर स्वास्थ्यकर्मी छैनन् । जसले गर्दा सल्यानबासीले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।

सल्यानका दुई प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा र थारमारेमा विशेषज्ञ चिकित्सक नभएको धेरै भयो । लेखपोखराको प्राथामिक स्वास्थ्य केन्द्र बिगत ४ वर्षदेखि अहेबको भरमा चलिरहेको छ भने थारमारेमा पनि दुई वर्षदेखि डाक्टर छैनन् । जनशक्तिको अभावमा सामान्य सेवा दिन पनि मुस्किल छ भने थारमारेको स्वास्थ्य केन्द्र भवन जिर्ण हुँदा स्वास्थ्यकर्मी त्रासकाबीच सेवा दिन बाध्य छन् । 

गाउँ ठाउँमा सहज रुपमा स्वास्थ्य सेवा पाउँन नसक्दा ग्रामिण भेगका नागरिकलाई सास्ती हुने गरेको छ । नजिकका स्वास्थ्य संस्थाहरुमा सामान्य औषधि पनि पाइदैन । त्यसो त जिल्ला अस्पताल सल्यानमा पनि जनशक्ति अभाव छ । त्यहाँ एक स्वास्थ्यकर्मीले ३६ जना बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । 

सल्यानमा एक जिल्ला अस्पताल, दुई प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी ४५, आधारभुत स्वास्थ्य केन्द्र ३४, सहरी स्वास्थ्य केन्द्र ४ र आठ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेका छन् । यी मध्ये अधिकांश स्वास्थ्य संस्थामा नागरिकले सामान्य उपचार पनि पाउँदैनन । स्वास्थ्य संस्थाका कतै भवन छन स्वास्थ्यकर्मी छैनन, कतै स्वास्थ्यकर्मी छन् भवन जिर्ण अवस्थामा छन् । 

गाउँ गाउँमा ठूलो रकम खर्चिएर अस्पतालका भवन बन्नु, तर विपन्न वर्गका नागरिकले सामान्य स्वास्थ्य उपचार नपाउानु दुखको कुरा हो । स्वास्थ्य सेवालाई सहज बनाएको दावी गर्दै आएको सरकारले संरचनासँगै चिकित्सकको उपलब्धतामा पनि गंभीर हुन जरुरी छ ।