नेवार समुदायले मनाए मतयाः जात्रा

श्रावण २८, २०७९
नेवार समुदायले मनाए मतयाः जात्रा

दिवंगत आफन्तको शान्तिको कामना गर्दै ललितपुरका नेवार समुदायले आज मतयाः अथात नेकू जात्रा मनाएका छन् । बौद्ध, चैत्य, विहार र बहाबहीको करिव १५ घण्टा निरन्तर परिक्रमाका साथै बुद्धमूर्तिको पूजा गरी यो जात्रा मनाइएको हो ।

धार्मिक तथा साँस्कृतिक महत्व बोकेको मतया जात्रा हरेक वर्ष गाइजात्राको भोलिपल्ट मनाइन्छ । ललितपुरको कोबहाल टोलबाट शुरु भएको मतयाः जात्रामा टोलटोलमा रहेको भगवान बुद्धका चैत्य, बहा, बहीमा रहेका बुद्धका मूर्तिको पूजा गर्दै परिक्रममा गरिन्छ । मृतात्माले शान्ति पाउने र सहभागीले पून्य प्राप्ति हुने जनविश्वासका परम्परागत पोशाकमा दियो बत्ती र धुप बालेर जात्रामा भाग लिने चलन छ ।

परम्परागत धाँ बाजा, बासुरीलगायतका बाजाका साथ टोलटोलबाट मतया जात्रामा सहभागी हुने चलन छ । जात्रामा पाटन क्षेत्रभरिका बहा बहि चैत्यमा रहेका करिव २ हजार बुद्धमूर्तिको पूजा गरिन्छ ।  जात्रामा सहभागीले धान, चामल, दक्षिणालगायतका सामग्री चढाउने चलन छ । मतया जात्रा विशेष रुपमा दुख पीडामा परेकालाई सान्त्वना दिन विभिन्न झाँकीका साथ ख्याल र व्यङ्ग्यात्मक प्रदशन पनि गरिन्छ । 

किवदन्ति अनुसार तत्कालीन लिच्छवीकालीन राजा बालचन्द्र देवका  पालाबाट पाटनका १० टोलका जनतालाई सम्मिलित गराइ जात्रा शुरु गरेको मानिन्छ ।