प्रशिक्षण र प्रचार कार्यक्रम लिएर नेताहरू आ-आफ्नो क्षेत्रमा

श्रावण २८, २०७९
प्रशिक्षण र प्रचार कार्यक्रम लिएर नेताहरू आ-आफ्नो क्षेत्रमा

प्रमुख राजनीतिक दलहरूले आफ्ना हरेक गतिविधिलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रीत गर्न थालेका छन् । २०७४ सालमा निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेले देशव्यापी रूपमा प्रशिक्षणका लागि नेता परिचालन गरेको छ भने सत्ता घटक र अन्य दलहरूले प्रचारका विभिन्न कार्यक्रम तय गरिसकेका छन् । केही दलहरू भने अझै गठबन्धनको कसरतमा रूमलिँदा प्रचारमा जुट्न सकेका छैनन् । 

चुनावको मिति घोषणा भएलगत्तै नेकपा एमालेका नेताहरू आ-आफ्नो क्षेत्रमा परिचालित भइसकेका छन् । निर्वाचन क्षेत्रमा पुगेर उनीहरुले भेला, प्रशिक्षण र सक्रिय कार्यकर्तासँगको भेटघाटलाई तीव्र पारेका छन् । भदौ ११ मा केन्द्रीय कमिटी बैठकपछि राष्ट्रब्यापी चुनावी अभियानको घोषणा गर्ने एमालेको तयारी छ । 

सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले चुनावका लागि आगामी भदौ १० गतेदेखि २४ गतेसम्म राष्ट्रब्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित आफ्ना प्रतिनिधिलाई तालिम दिएर कांग्रेसले भदौ २९ गतेपछि जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम पनि गर्दै छ । 

सत्ताको अर्को घटक माओवादी केन्द्रले पनि भदौ १ गतेदेखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । उसले सत्ता गठबन्धन दलमा सिट बाँडफाँटको विषय टुङ्गोमा पुगे लगत्तै संयुक्त रूपमा प्रचार कार्यक्रम गर्ने तयारी गरेको छ । 

सत्ता घटक दल एकीकृत समाजवादी र जनता समाजवादीले पनि जिल्लामा प्रचारका कार्यक्रम शुरू गरिसकेका छन् । जसपाबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी भने कोसँग गठबन्धन गर्ने भन्ने विषयमै अल्झिँदा उसले प्रचारका कार्यक्रम शुरू गरेको छैन । 

सबैजसो दलले निर्वाचन केन्द्रीत भएर आफ्ना एजेण्डाको प्रचार प्रसारलाई तीव्रता दिन थालेपछि जनमानसमा पनि चुनावी उत्साह बढेको छ ।