पाँचथर र ताप्लेजुङका विद्यालयमा अक्षर सुधार्ने योजना

श्रावण २३, २०७९
पाँचथर र ताप्लेजुङका विद्यालयमा अक्षर सुधार्ने योजना

राम्रो अक्षर लेख्ने विद्यार्थी प्रायः सबै शिक्षकका प्रिय हुन्छन् । तर थोरै मात्र त्यस्ता विद्यार्थी हुन्छन्- जसले मेहनतका साथ राम्रो बनाएर अक्षर लेख्ने गर्दछन् । अक्षर नराम्रो हुँदा लिखित परीक्षाको नतिजामा समेत नकारात्मक असर पर्छ । यस्तै विषयलाई ध्यानमा राखेर पाँचथर र ताप्लेजुङका केही विद्यालयले शिक्षक र विद्यार्थी दुवैका लागि अक्षर सुधार्ने योजना ल्याएका छन् ।

प्रविधिको विकाससँगै मोबाइल र ल्यापटपमा पढ्ने, फेसवुक, भाइवर र म्यासेन्जरमा च्याट गर्ने लत बसेसँगै मानिसमा हस्तलेखनको अभ्यास हराउँदै गएको छ । अझ कोरोना महामारीका बेला विद्यालय नियमित नलाग्दा बालबालिकाको हस्तलेखनमा नै नकारात्मक असर मात्र परेन परीक्षाको नतिजा समेत खस्कियो । त्यही कारण हस्तलेखनमा अभ्यस्त गराउन पाँचथर र ताप्लेजुङका विद्यालयले शिक्षक विद्यार्थी दुबैका लागि प्रशिक्षण नै चलाएका छन् ।

अंग्रेजी र नेपाली दुबै अक्षर नियम संगत र राम्ररी लेख्दै लेखाउन यो अभियान चलाइएको हो । सामान्यतः अंग्रेजीमा एउटा मात्रै अक्षर पनि मात्र राम्ररी लेख्न सके त्यसबाटै सुधार्न सकिन्छ । अंग्रेजी र नेपाली अक्षर लेख्ने फरक-फरक नियम भए पनि त्यसको आधारभूत जानकारी नपाउँदा राम्रा अक्षर लेख्न जग नबसेको सहभागी विद्यार्थी बताउँछन् ।

विद्यार्थीको अवस्था मूल्यांकन गरेर कुन विधालाई प्राथमिकता दिनुपर्ने हो त्यसैमा केन्द्रीत रहेर नियमबद्व राम्रा अक्षर लेख्न सिकाइने प्रशिक्षकहरु बताउँछन् ।

हस्तलेखन अभ्यासको प्याकेज एउटा विद्यालयमा १० दिनसम्म चलाउने गरिएको छ । नयाा शैक्षिक सत्र शुरु भएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाका २, याङ्वरक गाउँपालिकाका २, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको १ र फिदिम नगरपालिकाका २ वटा विद्यालयमा यो अभियान चलाइँदैछ । अभियान चलाउँदैमा विद्यार्थीले राम्रा अक्षर लेखिरन्छन् भन्ने चाहिँ हुँदैन । सिकेको कुरा व्यवहारतः लागू गरिरहन शिक्षक र विद्यालयले निगरानी गरिरहनु आवश्यक हुन्छ ।