कर्णालीका किसानले खोजे बालीमा विकल्प

श्रावण २३, २०७९
कर्णालीका किसानले खोजे बालीमा विकल्प

परम्परागत बाली लगाउँदा उचित प्रतिफल प्राप्त हुन छाडे्पछि कर्णाली प्रदेशका किसानले विकल्प खोज्न थालेका छन् । पछिल्लो समय सहज बजारीकरण र उत्पादनले मूल्य पाउने भएपछि यहाँका किसान ड्रागन फल र किवीको व्यवसायिक खेती गर्न लागेका हुन् ।

कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट र रुकुम-पश्चिमका किसानले ड्रागन फुड र किवी खेती गरेर राम्रो आम्दानी गर्न लागेका छन् । खाइपाई आएको जागिर छाडेर सुर्खेतका हिराबहादुर घर्तीले एक विघा जमिनमा ९ सय ७६ वटा ड्रागन फलका विरुवा लगाएकोमा फल दिन थालेका छन् । कृषि विकास बैंकबाट लिएको ऋणसहित झन्डै एक करोड रुपैयाँ लगानीमा उनले यो खेती सुरु गरेका हुन् ।

घर्ती मात्र नभएर कर्णाालीका अन्य किसानले पनि यसको खेती थालेका छन् । गर्मी ठाउँमा खेती गर्न सकिने ड्रागन फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यसका साथै यो फलले क्यान्सर रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यो फललाई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ ।

कर्णालीमा १० हेक्टर जमिनमा ड्रागन फलको खेती भइरहेको कृषि विकास निर्देशनालयले जनाएको छ । यो फल प्रतिकिलो ७ सय रुपैयाामा बिक्री हुने गरेको छ । कर्णाली प्रदेशमा ड्रागन फलसँगै किवी र एभोगाडोजस्ता फलफूल उत्पादनमा किसानको आकर्षण बढ्दो देखिन्छ ।

नयाँ प्रजातीका फल भएकाले यसको बजार राम्रो छ । स्थानीय सरकारले यसको खेतीमा प्रोत्साहन गरी किसानको आयआर्जन बढाउन थप पहल गर्नुपर्ने देखिन्छ ।