बीमा एजेन्टको लहलहैमा पोलिसी खरिद गर्ने र प्रिमियर नतिर्ने क्रम बढ्यो

श्रावण २२, २०७९
बीमा एजेन्टको लहलहैमा पोलिसी खरिद गर्ने र प्रिमियर नतिर्ने क्रम बढ्यो

पछिल्लो समय बिमा गर्ने तर बार्षिक किस्ता नतिर्ने क्रम बढेको छ । कतिसम्म भने कमिसनको लोभमा बिमा अभिकर्ताले तिर्नै नसक्ने पोलिसी विक्री गरेपछि पोलिसी सरेन्डर र बिमा ल्याप्सेस अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढेको छ ।

बिमा लेख जारी गर्दा बिमितको आर्थिक अवस्थालाई हेरेर जारी गर्नु पर्छ अर्थात तिर्न सक्ने व्यक्तिलाई क्षमता अनुसारको पोलिसी बेच्नु पर्छ । तर व्यवहारमा त्यस्तो भएको छैन । जसका कारण बिचैमा किस्ता तिर्न छाड्ने र पैसा फिर्ता लिन खोज्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब रुपैयाँ बराबरको ६३ हजार जनाले पोलिसी सरेन्डरगरेकोमा गत आर्थिक वर्षमा ८१ हजार जनाले १२ अर्ब रुपैयाँभन्दा बढिको पोलिसी सरेन्डर भएको छ । 

बिचैमा बिमा पोलिसी छाड्ने क्रम बढ्नुको मुख्य दोषी बिमा अभिकर्ता र सम्बन्धित बिमा कम्पनी नै हुन् । तर दुबै यसप्रति सचेत देखिदैनन् । जसका कारण सरेन्डर रोकिनुको साटो बढेको छ । कतिपयले किस्ता तिर्न सक्ने अवस्थामा पनि सरेन्डर गरिरहेका छन् । यसले योजना नै बनाएर बिमा पोलिसीबाट पछि हटेका हुन् कि भन्ने आशंका बढाएको छ । 

गत वर्ष सबैभन्दा बढि नेपाल लाईफ ईन्स्योरेन्सको २६ हजार ६ सय पोलिसी सरेन्डर भएका छन् भने राष्ट्रिय बिमा संस्थानको १६ हजार, लाईफ ईन्स्योरेन्स कर्पोरेसनको ९ हजार, प्राईमलाईफ इन्स्योरेनसको २ हजार ९ सय पोलिसी सरेन्डर भएका छन् ।

बिमा ऐनमा नै पोलिसी सरेन्डर गर्न पाउने व्यवस्था छ । कतिपयले यसैको फाईदा उठाई रहेका छन् । त्यहि भएर बिमा कम्पनीले सरेन्डर अवधि ३ बर्षबाट बढाएर ५ बर्ष पुर्याउने तयारी गरेको छ ।