अघि बढ्यो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग

श्रावण २२, २०७९
अघि बढ्यो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग

प्रतिनिधिसभाले निलम्वित प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको छ।

प्रतिनिधिसभाको आजको बैठकले जबराविरुद्धको महाअभियोग छानविनका लागि सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले पारित गरेको हो । समितिमा पठाएको तीन महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने संसद नियमावलीमा उल्लेख छ ।

महाअभियोग अघि बढाउने प्रस्तावमाथि छलफल हुँदा प्रतिनिधिसभा बैठकमा भने सत्ता पक्ष र प्रमुख प्रतिपक्षका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका थिए । सरकार काम चलाउ भैसकेको र निलम्वित प्रधानन्यायाधीश जबराको कार्यकाल समेत सकिन लाग्दा प्रस्ताव अघि बढाइएको भन्दै एमालेका सांसदले चर्को विरोध गरेका थिए । 

सत्तारुढ दलका सांसदले भने जबराले पद अनुसारको आचारण नदेखाएको आरोप लगाउँदै सहमतिको आधारमा महाअभियोग पारित गर्नुपर्ने बताए । 

फागुन २९ गते माओवादी केन्द्रको सांसद देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस गरेको थियो । आज सभामुख अग्नि सापकोटाले सैद्धान्तिक छलफलका लागि  अघि बढाएका थिए । अब समितिले कार्यविधि बनाएर काम थाल्नेछ । अध्ययनका क्रममा जबरालाई पनि सफाईको मौका दिनुपर्ने प्रावधान छ । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका ९८ सांसदले हस्ताक्षर गरेर जबराविरुद्ध महाअभियोग दर्ता गराएका थिए। जबरामाथि २१ आरोप लगाइएको छ । महाअभियोग पारित हुनका लागि सांसदहरुको दुइ तिहाइ संख्या चाहिन्छ। प्रतिनिधिसभाको कार्यकाल अब चार महिना मात्रै बाँकी छ ।