प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको ताकेता

श्रावण १, २०७९
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको ताकेता

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति मंसिर २ गते तय गर्न सरकारलाई सुझाव दिएको छ । त्यसका लागि एक सय २० दिन अघि मिति तोकिसक्नु पर्छ । र भोलिसम्म मिति घोषणा नगरे मंसिर २ मा निर्वाचन हुन सक्दैन । तर सरकारले यस विषयमा सत्ता गठबन्धन दलभित्र छलफल नै गरेको छैन । सरकारको आलटालले आयोगलाई भने समस्या थपेको छ । 

यसअघि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा सम्पन्न भएको थियो । यसपटक भने निर्वाचन आयोगले एकैपटक चुनाव गर्ने गरि सरकारलाई मंसिर २ को मिति सिफारिस गरेको छ । आवश्यक समय नभए यसले निर्वाचनको तयारीमा समस्या हुने भन्दै आयोगले समयमा चुनावको मिति तोक्न सरकारलाई सुझाव दिएको छ ।

 तर सरकारले भने मिति तय गर्ने विषयमा तदारुकता देखाएको छैन । राजनीतिक सहमतिको आधारमा मिति तय गर्ने भनेपनि सत्तारुढ दलभित्र यस विषयमा छलफल नै भएको छैन । दलीय सहमतिमा निर्वाचनको मिति तय गर्न सरकारलाई समय लाग्ने देखिन्छ । 

निर्वाचन आयोगको कामप्रति विगतदेखिनै सरकारको सकारात्मक सहयोगको अभाव रहेको जानकारहरु बताउँछन् । कानुनमा निर्वाचित प्रतिनिधिको कार्यकाल प्रष्ट छ तर  निर्वाचनका लागि मिति तोकिएको छैन । तोकिएकै मितिमा निर्वाचन गर्ने अभ्यास विभिन्न देशमा हुने गरे पनि हामीकहाँ मिति उल्लेख नहुँदा आयोगले समस्या बेहोर्नुपरेको विज्ञको बुझाई छ । 

गठबन्धन दलमा तालमेलको खाकाबारेनै छलफल बढी केन्द्रीत छ । त्यसैले चुनावको मिति तत्काल तय हुने सम्भावना कम छ ।