भलिबलको ग्रासरुट प्रतियोगितामा लगानी कम

असार १३, २०७९
भलिबलको ग्रासरुट प्रतियोगितामा लगानी कम

राष्ट्रिय खेल भलिवलको राष्ट्रिय स्तरमा धेरै प्रतियोगीता हुन्छन् । तर उमेर समूह र विद्यालयस्तरिय प्रतियोगिता शुन्य प्राय: छन् । ग्रासरुटमा लगानी नहुँदा भलिबलको भविष्यप्रति सरोकारवालाहरुले पटक पटक चिन्ता व्यक्त गरिरहेका छन् । तर संघबाट पूर्वाधारमा लगानी, ग्रासरुट प्रतियोगिता, एकेडेमी सञ्चालन नहुँदा निजी क्षेत्रले  फाट्टफुट्ट आयोजना गर्ने उमेर समुहका प्रतियोगिताले नै महिला खेलाडीको उत्पादन धानिरहेको छ । 

यो नैकापस्थित न्यु डायमाण्ड स्कुलको कोर्ट हो । यही कोर्टमा स्पाइकर रमिला तन्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी, सेटर कृपा अधिकारी, लिबेरो सलिना श्रेष्ठ जस्ता चर्चित खेलाडीले भलिबल सिकेका हुन् । ६ बर्षदेखिका बालिकालाई भलिबल सिकाउँदै आएको न्यु डायमण्डले  नयाँ खेलाडी उत्पादनको उदेश्यसहित चन्द्रागिरी न्यु डायमण्ड कप आयोजना गर्यो । चार वटा टिमको सहभागिता रहेको प्रतियोगितामा नयाँ खेलाडीसँगै प्रगती नाथ, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, निशा महर, सलिना बुढामगर लगायत घरेलु प्रतियोगिता खेलिसकेका खेलाडीले अनुभव बाँडिरहेका छन् । धेरै नयाँ तथा प्रतिभावान् खेलाडीले समेत एक्सपोजरको मौका पाएका छन् । 

उमेर समुहको प्रतिनिधित्व गर्ने चन्द्रागिरी न्यु डायमण्ड कपको उदेश्य नयाँ खेलाडी छनौट गर्नु र सिनियर टिममा समेट्नु हो ।  प्रतियोगिताका लागि चन्द्रागिरी नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको छ भने अन्य खर्च न्यु डायमण्ड स्पोर्टस क्लब आफैले  ब्यहोर्यो । 

उमेर समुहको प्रतियोगितापछि क्लबले आगामी १४ गतेदेखि सिनियर स्तरकै राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ । जसले खेलाडीलाई आफ्नो स्तर मापनमा सघाउ पुग्ने छ । राष्ट्रिय खेल भए पनि भलिबल संघले ग्रासरुट स्तरका कार्यक्रम तर्फ प्राथमिकता दिएको छैन । सरकारले वेवास्ता गरेको बहानामा भलिबल संघ निस्क्रिय रहेको बेला न्यु डायमण्डले  निजीस्तरबाट प्रायोजनको पहल गर्दै उमेर समुहदेखि राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना गर्नु प्रसंशनीय छ ।