बाँकेको राप्ती र आसपासका खोलाको दोहनले तटीय वस्ती जोखिममा

असार १२, २०७९
बाँकेको राप्ती र आसपासका खोलाको दोहनले तटीय वस्ती जोखिममा

एकातिर वर्षातको समय अर्कोतर्फ राप्ती र आसपासका खोलाको अनियन्त्रित दोहनले बाँकेका केही वस्ती जोखिममा परेका छन् । राजनीतिक र प्रशासनिक शक्तिका आडमा खोला र नदी नै कब्जा गरी दोहन गर्दा तटीय क्षेत्रका ग्रामीण वस्तीभित्र बाढी पस्ने खतरा बढेको हो । नदी दोहन रोक्न सरोकारवाला निकायले तप्परता देखाएका छैनन् ।

राप्ती नदीमा आउने बाढीका कारण ५ वर्षदेखि बााकेको  पूर्वी तटीय क्षेत्र डुवानमा पर्दै आएको छ । डुवानकै कारण सयौं बिघा उर्वर भूमिसमेत बगरमा परिणत भएको छ । संगठितरुपमै भइरहेको नदी दोहनका कारण डुवान तथा कटानले राप्तीको बाढी बस्ती तिर पस्दै आएको छ ।  खुलेआम नदी दोहन गर्न दिने अनि  हिउादमा हात बााधेर बस्ने र  बर्खामा बाढीले तहसनहस गरेपछि  मात्रै  विपद व्यवस्थापनका पक्षमा  सोच्ने  सरकारी र राजनीतिक  परम्पराले  तटीय क्षेत्रका बस्ती जोखिमा परेका हुन् ।

२०७४ सालमा जननिर्वाचित प्रतिनिधिहरुको स्थानीय सरकार गठन भएसागै नदी र खोला नै कब्जा गरेर  दोहोन गर्न क्रम तीव्र भएको छ । जसका कारण राप्ती सोनारीको पश्चिमी भेग तिर बग्दै आएको नदी पूर्वी वडा नम्बर ६ फत्तेपुरतर्फको तटिय बस्तीतिर ढल्किादै गएको छ । यसले गर्दा  मावन बस्तीलाई खतरामा पारेको छ । नदी दोहनकै कारण निम्तिने डुवानले विस्थापित हुँदै आएकाहरु जंगल क्षेत्रमा आश्रय दिँदा सरकारी जग्गा र बनसमेत विनास हुने गरेको छ । पीडित तथा प्रभावित क्षेत्रका बासिन्दाले नदीजन्य वस्तु उत्खनन्सँगै चोरी निकासी नियन्त्रण गरि प्राकृतिक विपत्तिबाट मानव बस्ती जोगाउन माग गर्दै आएका छन् ।