फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नोभेम्बर अघि नेपाल फर्कने

असार १२, २०७९

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षकको रुपमा अब्दुल्लाह अलमुताइरीले नै निरन्तरता पाउने भएका छन् ।  अलमुताइरीको विकल्प सोच्ने चर्चा विपरित अखिल नेपाल फुटबल संघ एन्फाले उनी नोभेम्बर अघि नेपाल फर्कने जानकारी दिएको छ ।

अलमुताइरी कतार फुटबल संघको आर्थिक सहयोगमा सन् २०१९ मा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । कतारले उनलाई मासिक १० हजार डलर  पारिश्रमिक दिन्छ । एन्फाले खाने र बस्ने मात्र प्रवन्ध गर्छ  । एन्फा र अलमुताइरीबीच दुई बर्षको सम्झौता बाँकी नै रहेको अवस्थामा कतारसँग पनि सम्बन्ध नबिगार्ने उदेश्यले एन्फाले अलमुताइरीलाई बोलाउने भएको हो । 

    

खेलाडी प्रशिक्षक विवादमा अलमुतइरीलाइ मुख्य दोषी देखाउँदै आएको नेम्बाङ नेतृत्वको पहिलो कार्यसमिति बैठकले सबै १० खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।  खेलाडीले भने अलमुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो हुने बताएका छन् । एन्फाले भने अब सम्बन्ध सुधारको विकल्प नभएको बताएको छ । 

    

२०७८ साउन १० गते नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले तत्कालीन एन्फा बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण काम गर्न नसकेको भन्दै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेपछि दुई पक्षबीच सम्बन्धमा चिसो बढेको हो ।   चार वर्षे कार्यकालका लागि पंकज बिजयी भएपछि अल्मुताइरीले पनि नेपाल नफर्कने संकेत गरेका थिए । खेलाडी प्रशिक्षक विवाद र एन्फा निर्वाचनपछि अलमुताइरीको नेपाल बसाइ अनिश्चित बनेको अनुमान थियो ।  एन्फाको नयाँ नेतृत्वले  पनि कतार फुटबल संघको आर्थिक सहयोगमा नेपाल आएका अलमुताइरीको विकल्प खोज्ने बताएको थियो ।  तर, सम्झौता अनुसार अल्मुताइरीलाई बर्खास्त गर्न सहज नदेखिएपछि एन्फाले निरन्तरताको योजना बनाएको हो । अलमुताइरीको विकल्प खोज्न कतार एफए, एन्फा र स्वय‌ अलमुताइरी राजि हुनुपर्ने सम्झौतामा उल्लेख छ ।