नागरिकता विधेयकको स‌ंसदीय प्रक्रिया अनिश्चित

असार ११, २०७९
नागरिकता विधेयकको स‌ंसदीय प्रक्रिया अनिश्चित

सत्ता गठबन्धन दलले तत्कालै संसदबाट नागरिकता विधेयक अगाडि बढाउने सहमति गरे पनि संसदीय प्रक्रिया अनिश्चित बनेको छ । विधेयकका विवादित विषयमा दलहरुबीच सहमति नजुटेकाले संसदमा कहिले विधेयक अघि बढ्न भन्ने निश्चित नभएको हो । शीर्ष तहमा वैवाहिक अंगीकृत, आमाको नाम र जन्मसिद्धका आधारमा नागरिकता दिने विषयमा दलहरुबीच सहमति जुटाउनेबारे गृहकार्यसम्म भएको छैन ।

सत्तारूढ दलहरूले संघीय सरकारको बजेट सार्वजनिक अघि नै नागरिकता विधेयक संसदीय प्रक्रियामा अघि बढाउने भनेका थिए । तर जेठ १५ गते बजेट प्रस्तुत भएपछि संसदको छलफल बजेट केन्द्रीत भयो र नागरिकता विधेयकले प्राथमिकता पाएन । असार १ मा बजेट पारित भएलगत्तै नागरिकता विधेयक संसदीय प्रक्रियामा अगाडि बढाउने विषयमा प्रधानमन्त्री र सभामुखवीच छलफल भयो । सहमति जुटाएर असार ६ को प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक संसदमा छलफलमा ल्याइने भनिएको थियो । तर दलहरूवीच नागरिकता विधेयकका विषयमा ठोस सहमति भएको छैन । असार ८ मा सत्ता गठबन्धनका दलहरूको बैठकले नागरिकता विधेयकलाई तत्कालै अगाडि बढाउने भनेको छ । तर विधेयकका विषयमा सबै दलहरू आ-आफ्नै अडानमा छन् । सहमति जुटाउने प्रयास भएकै छैन ।  

नागरिकताको सवालमा सत्ता गठबन्धन र विपक्षी दलभित्रै दुई धार छन् । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस, सत्ता साझेदार दल जनता समाजवादी पार्टी र सरकारको विपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले वैवाहिक अंगीकृतमा ७ बर्ष राख्न नहुने अडान राखेका छन् ।