धनुषामा मापदण्ड विपरित संचालित उद्योगबाट स्वास्थ्यमा प्रतिकुल असर

असार ६, २०७९
धनुषामा मापदण्ड विपरित संचालित उद्योगबाट स्वास्थ्यमा प्रतिकुल असर

घनावस्ती र विद्यालयभन्दा निश्चित दूरिमा मात्र उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान धनुषाका सबै उद्योगीले पालना गरेका छैनन् । मापदण्डविपरित सञ्चालित आधा दर्जन उद्योगका कारण स्थानीय तथा विद्यार्थी जोखिमपूर्ण जीवनयापन गर्न बाध्य छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा विद्यालय र वस्ती नजिकै ११ वर्षदेखि प्लाष्टिक उद्योग संचालनमा छ । २०१६ सालमा स्थापना गरिएको महेन्द्र माबिभन्दा २ सय मिटरको दुरीमा मात्रै प्लाष्टिक उद्योग छन् । मापदण्ड अनुरुप विद्यालय र उद्योगबीचको दूरि कायम नगरेपनि विद्यार्थी र स्थानीयलाई समस्या नहुनुपर्ने हो । तर उद्योगका कारण विद्यालयमा अध्ययनरत १ हजार ५ सयभन्दा बढि विद्यार्थी प्रभावित छन् । 

उद्योगवाट हुने वातावरणीय प्रदुषण तथा विद्यार्थीमा पर्न गएको नकारात्मक असरलाई व्यवस्थापन गर्न वडा अध्यक्ष र उद्योग संचालकलाई लिखित रुपमै दुई वर्ष अघि विद्यालयले जानकारी गराएपनि अहिलेसम्म त्यसको ठोस व्यवस्थापन हुन सकेको छैन ।  

विद्यार्थी र स्थानीयलाई प्रदुषणबाट जोगाउन प्रशासनले पनि कुनै पहल गरेको छैन । 

धनुषामा संचालित उद्योगमध्ये ६ वटाभन्दा बढि उद्योग मापदण्ड विपरित छन् । जनतासंग प्रत्यक्ष सरोकार रहेका यस्ता उद्योगहरुलाई व्यवस्थित गरेर संचालन गर्न आवश्यक छ ।