विराटनगरमा चुनावी मत परिणाम रोचक

जेष्ठ ८, २०७९

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्की निर्वाचित भए । सत्ता साझेदार दल मिलेर उम्मेदवारी दिए पनि उपप्रमुखमा एमालेले जित निकाल्न सक्यो । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित सात वटा वडा जितेको थियो । तत्कालिन संघीय समाजवादी फोरमले छ, नेकपा एमालेले तीन, एउटा वडा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा स्वतन्त्र उम्मेद्वार निर्वाचित भएका थिए । १९ वडा वडा रहेको महानगरमा विगतमा बहुमत पाएको नेपाली कांग्रेसले यो निर्वाचनमा प्रमुख र छ वटा वडामा खुम्चिएको छ । नेकपा एमालेले उपप्रमुख सहित नौ वटा वडामा जित निकालेको छ । महानगरमा एमालेको स्पष्ट बहुमत छ । पहिले छ वटा वडा जितेको जनता समाजवादी फोरम दुई वटा वडामा खुम्चिएको छ । माओवादी केन्द्रले पहिले जितेको एउटा वडा पनि गुमाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडा जितेर महानगरमा प्रवेष गरेको छ । एउटा वडामा जसपाबाट उम्मेदवारी नपाएर स्वतन्त्रमा उम्मेदवारी दिएकाले जितेका छन् । 

नेपाली कांग्रेसका लागि गठबन्धन विराटनगर महानगरमा प्रत्युत्पादक बन्यो । २०७४ सालमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर महानगर प्रमुख चुनिएका थिए भने तत्कालिन संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रका उम्मेद्वार उमेश यादवले १४ हजार नौ सय ५८ मत ल्याएका थिए । नेकपा एमाले र तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको गठबन्धनका उम्मेद्वार विनोद प्रसाद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए । नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेससाग गठबन्धन गरेको र फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससाग एकता गरेको अबस्थामा नेपाली कांग्रेसले महानगरमा ४० हजार भन्दा बढी मत ल्याउनु पर्ने हो । तर नेपाली कांग्रेसले सोचे जति मत ल्याउन त सकेन नै एक्लै चुनाव लडेको भन्दा हैसियत गुमाएको छ । कांग्रेसभित्रको चरम गुटबन्दी र अन्तर्घात, प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिलालाई दिनै पर्ने कानूनी प्रावधानको वेवास्थाले गर्दा विराटनगरमा गठबन्धन दलले भने जति मत प्राप्त गर्न सकेनन् । त्यसमाथि राजनीतिमा खासै सक्रिय नभएका जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरालाई उपप्रमुखको उम्मेद्वार बनाउादा पनि गठबन्धनका लागि चुनावी नतिजा प्रभावकारी नभएको विश्लेषक बताउाछन् ।