स्थानीय तहको नेतृत्वमा पुग्न दलितलाई अझै कठिन

जेष्ठ ८, २०७९

मधेस प्रदेशका सामााजिक बिकास मन्त्री नवलकिशोर साहका छोरा शैलेसलाई पराजित गर्दै सप्तरीको हनुमाननगर कंकालीनि नगरपालिकाको प्रमुखमा वीरेन्द्र माझी निर्वाचित भए । २०७४ को स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट माझी र राजपाबाट शैलेस साहबीच प्रतिस्पर्धा हुादा माझी १ हजार ३ सय मतले पराजित भएका थिए । यसवर्ष उनै साहलाई माझीले १ सय ६१ मतान्तरले पराजित गरे । जसपाले टिकेट नदिएपछि माझी सिके राउत नेतृत्वको जनमत पार्टिबाट चुनाव लडेका थिए । 

मधेस प्रदेश र प्रदेश नम्बर १ मा ५० हजारको हाराहारीमा जनसंख्या रहेको राजधोव जातीका सप्तरीको भारदहमा मात्र २ हजार मतदाता छन् । यो जात मधेस प्रदेशमा अल्पसंख्यकमा पर्दछन् । धनुषाको विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि बेचन दास तत्मा पुनः निर्वाचित भए । पहिलो कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचित दलित समुदायका बेचन दास दोस्रो कार्यकालमा पार्टी परिवर्तन गरेर नेकपा एमालेबाट निर्वाचित भएका हुन् । 

मधेस प्रदेशमा १ सय ३६ पालिका छन् । प्रमुख र उपप्रमुखमा मुस्लिम समुदायबाट केही स्थानमा निर्वाचित भए पनि अल्पसख्ंयक र दलितबाट निर्वाचित भएका बेचन र वीरेन्द्र अपवाद नै हुन् । आरक्षित कोटावाहेक कार्यकारी प्रमुख पदमा दलितको प्रतिनिधित्व निकै कम छ ।

मधेस प्रदेसको कुल ३३ लाख ३१ हजार १ सय ७० जना मतदाता मध्ये १८ प्रतिशतभन्दा बढि दलितको संख्या छ । दलित बस्तीलाई भोट बैंकको रुपमा राजनीतिकदल र उम्मेदवार प्रयोग गर्दै आए पनि जनप्रतिनिधि भने बनाउादैनन् । खर्चिलो र भड्काउ चुनावी माहौलमा प्रमुख र उपप्रमुखमा आरक्षणको व्यवस्था नभएसम्म दलितको प्रतिनिधित्व नारामा मात्र सीमित रहने देखिन्छ ।