चुनावमा निर्वाचित महिला प्रमुखका योजना

जेष्ठ ८, २०७९
चुनावमा निर्वाचित महिला प्रमुखका योजना

कानुनत स्थानीय तहको प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षमा एक जना महिला अनिवार्य छ । तर, दलले धेरै स्थानमा महिलालाई उपप्रमुख वा उपाध्यक्षमा मात्रै खुम्च्याए । गठबन्धन गरेर गएका दलले धेरैमा त महिलालाई दुवै पद दिएनन् । यद्यपि अहिलेसम्म १९ स्थानीय तहमा महिलाले प्रमुख पद जितेका छन्  । त्यहां उनीहरुले के कस्ता योजना बनाएका छन् त ?

नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले महिला प्रमुख पाएको छ । एमालेका तर्फबाट उम्मेद्वारी दिएकी विमला अर्यालसाग महिला भएकै कारण राजनीतिदेखि सामाजिक क्रियाकलापमा पछाडि परेको र थप मेहनत गर्नुपरेको अनुभव छ । उनलेे महिला हरेक काममा पहिला हुन्छन् भन्ने गरी उत्कृष्ट काम गर्ने योजना बुनेकी छन् । 

पाँच वर्ष उपप्रमुख चलाएकी मोहनमाया ढकालले अब नगरप्रमुखका रुपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका हाक्नेछिन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी ढकालले उपप्रमुख छदै कोरोनाका कारण परेका समस्या, न्यायिक समिति र राजश्व व्यवस्थापनमा उत्कृष्ट काम गरेकी थिइन् । बीरेन्द्रनगरलाई उत्कृष्ट बनाउने उनको योजना छ । 

उपमहानगरपालिकामा मीना लामादेखि सुदुरपश्चिमको लम्की चुहा नगरपालिकाकी सुशिला शाहीसम्मले अबको ५ वर्ष प्रमुख भएर स्थानीय तह चलाउन पाउने छन् । महिला प्रमुख बनेका स्थानमा भने यथास्थीतिका भौतिक पूर्वाधारका ठूला योजना मात्र होइन उनीहरुले मानविय विकास र समाज रुपान्तरणका व्यवहारिक योजना बनाएका छन् । धैर्यतापूर्वक घर  संघसस्था र पाटीको जिम्मेवारी सम्हालेका महिला प्रमुख बन्दा स्थानीय सरकारको बागडोर पनि अझ सफलतापूर्वक सम्हाल्ने अपेक्षा गर्न सकिन्छ ।