चुनावी परिणामले प्रदेशमा दलहरुका फरक शक्ति

जेष्ठ ८, २०७९
चुनावी परिणामले प्रदेशमा दलहरुका फरक शक्ति

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनले पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व टुंगो लगाएको छ । निर्वाचनले नेपाली कांग्रेसलाई पहिलो शक्तिका रुपमा उभ्याएको छ । नेकपा एमाले र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो शक्ति बनेका छन् । तर प्रदेशअनुसार दलहरुको शक्ति सन्तुलन भने फरक छ ।

पछिल्लो तथ्यांक र मत परिणामअनुसार कांग्रेसले प्रदेश १ मा सबैभन्दा धेरै ६२ पालिका प्रमुखमा जितेको छ । प्रदेश १ को एक मात्र महानगर विराटनगर पनि कांग्रेसले नै जितेको छ। एमालेले ४१ र माओवादी केन्द्रले भने १२ स्थानीय तह जितेका छन् । एकीकृत समाजवादी र जनता समाजवादीले २/२ स्थान जित्दा अन्यले ४ वटा पालिका जितेका छन् । 

यता मधेश प्रदेशमा १३६ पालिमा मध्ये कांग्रेसले ४१ वटामा जित निकालेको छ । अघिल्लो निर्वाचनमा भन्दा अहिले आफ्नो स्थानलाई सुधार गर्दै एमालेले २२ पालिका जितेको छ । वीरगञ्ज महानगरमा अग्रता लिइरहेको जसपाले २० पालिकाको नेतृत्व पाएको छ । मधेस प्रदेशमै लोसपा १० र माओवादी केन्द्र ९ पालिकामा खुम्चिएका छन् । यसैगरी एकीकृत समाजवादी ४ वटा पालिकामा सीमित छ । ३ वटा महानगरपालिका रहेको बागमती प्रदेशका १ सय १९ पालिका मध्ये ललितपुर महानगरमा अग्रतासहित ५६ पालिका जितेको कांग्रेसलाई २६/२६ पालिका जितेका एमाले र माओवादी केन्द्रले पछ्याएका छन् । बागमतीमा एकीकृत समाजवादीले अहिलेसम्म ५ स्थान मात्र जितेको छ । अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशमा बलियो पकड बनाएको नेकपा एमालेले यस पटक कांग्रेसकै जति ३५/३५ पालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले ११ पालिका जितेको छ । 

माओवादीले भने अघिल्लो पटकको तुलनामा आफ्नो स्थान सुधारेको छ ।  पोखरा महानगरमा अग्रता कायम राखेको एकिकृत समाजवादीले अन्य पालिका भने जिल्न सकेको छैन । एमालेले आफ्नो शक्ति गुमाएको अर्को प्रदेश हो– लुम्बिनी । कांग्रेसले ४३ पालिका जित्दा एमाले र माओवादी केन्द्रले २५/२५ वटा स्थानीय तह जितेका छन् । जनता समाजवादीले ३ पालिका जिल्दा अन्यले ४ पालिका जितेका छन् । कर्णाली प्रदेशमा कांग्रेसले ३३, माओवादी केन्द्रले २२, एमालेले १५ र एकीकृत समाजवादीले ४ वटा पालिका जितेका छन् । स्वतन्त्रलगायत अन्य दलले ५ तह जितेका छन् । सुदूरपश्चिमम प्रदेशमा ३६ स्थानीय तह जित्दै कांग्रेस पहिलो दल भईरहँदा एमालेले २४ पालिका प्रमुख जितेर दोस्रो बनेको छ । माओवादी केन्द्रले १४ पालिका जितेको यो प्रदेशमा एकीकृत समाजवादीले २ पालिका जितेको छ ।