निर्वाचनमा दलगत नाफा घाटा

जेष्ठ ८, २०७९
निर्वाचनमा दलगत नाफा घाटा

लामो रस्साकस्सीपछि सत्ता साझेदार दलहरुले गठबन्धन गरेरै स्थानीय तह निर्वाचनमा सहभागी भए । पाँच दलले झण्डै २० प्रतिशत स्थानमा चुनावी तालमेल गरे । तालमेल गरेका धेरै स्थानको नतिजा पनि उनीहरुकै पक्षमा देखिएको छ । गठबन्धनभित्रका पाँच दल मध्ये कांग्रेस र माओवादी केन्द्रले बढी नै लाभ लिएका छन् भने अन्य दललार्इ पनि घाटा नभएको देखिन्छ । 

सत्ता गठबन्धनमा आवद्ध पाँच दलले स्थानीय तह चुनावमा ११ जिल्लामा पूर्ण र अन्य स्थानमा आंशिक गठबन्धन गरे । उनीहरुले ६ महानगर र ११ उपमहानगरमा त केन्द्रबाटै सिट भागबण्डा गरे । समग्रतामा यी स्थानको चुनावी नजिता गठबन्धनको पक्षमा देखिएको छ । तालमेल गरेका धेरैजसो स्थानमा गठबन्धनको नतिजा सुखद देखिएको छ । तर सबैभन्दा बढी फाइदा भने कांग्रेसले लिएको छ । दोस्रो दलबाट पहिलोमा पुग्न कांग्रेसलाइ गठबन्धन फलिफाप भएको छ ।

 त्ससो त तेस्रो शक्तिका रुपमा रहेको नेकपा माओवादी केन्द्रले पनि स्थानीय तह चुनावमा मत सुधार गरेको छ । निर्वाचन परिणामप्रति खुसी नै देखिएको माओवादी केन्द्र अहिले चुनावी समीक्षा गरिरहेको छ । तर अध्यक्ष पुष्पकमल दाहालले त गठबन्धन सफल भएको प्रतिक्रिया दिइसकेका छन् । उनले प्रदेश र संघको निर्वाचनसम्मै गठबन्धनलाई लैजानुपर्ने बताएका छन् । यसले पनि माओवादी केन्द्रलाई गठबन्धनबाट लाभ पुगेको भन्न सकिन्छ ।

गठबन्धनभित्रका जनता समाजवादी र एकीकृत समाजवादीको भने केही गुनासा देखिन्छन् । दुवै दलले स्थानीय चुनावमा सोचेजस्तो मत परिणाम नआएको गुनासो गरिरहेका छन् । जसपा विभाजनबाट गुज्रिएको र एकीकृत समाजवादी एमालेबाट फुटेर गठन भएकाले उनीहरुको अहिलेको चुनावी परिणाममा गठबन्धनका अन्य दलको योगदान रहेको देखिन्छ । त्यसो त दलहरुले आ–आफ्नो पक्षमा यो भन्दा राम्रो नतिजा आउने अपेक्षा गरेका थिए । अपेक्षा अनुसार नभए पनि समग्रतामा स्थानीय तहको चुनावमा गठबन्धनका सबै दलले कुनै न कुनै रुपमा लाभ लिएको स्पष्ट छ ।