जनकपुर उपमहानगरमा इतिहास दोहोरिने संकेत

जेष्ठ ७, २०७९
जनकपुर उपमहानगरमा इतिहास दोहोरिने संकेत

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका मतदाता यस पटक पनि स्वतन्त्र उम्मेदवारकै पक्षमा देखिएका छन् । यसअघिका धेरैजसो निर्वाचनमा जनकपुरका मतदाताले स्वतन्त्र उम्मेदवारलाई चयन गरेका थिए । जनकपुरधाममा विद्रोही उम्मेदवारलाई फापेको इतिहास नै छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम धार्मिक र सांस्कृतिक नगरीको रुपमा स्थापित छ ।

नेपाल राज्य नगरपालिका ऐन, २००९ अनुसार २०१७ साल जेठ १३ गते जनकपुरलाई नगरपालिका घोषणा भएको थियो । २०४७ पछि बिद्रोही उम्मेदबारको पकडमा रहेको जनकपुरधाममा यस वर्ष पनि पुरानो ईतिहास दोहोरिने संकेत देखिएको छ । पाँच दलीय गठबन्धको भागबण्डामा जनकपुरधाम उपमहानगर जसपाको कोटामा परेपछि नेपाली कांग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह जनकपुरधामको मतगणनामा निकै अगाडि देखिएका छन् ।

 २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका लालकिशोर साहले २१ हजार ९ सय ३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तत्कालिन उम्मेदबार मनोजकुमार साह ११ हजार १ सय ६४ मत मात्र प्राप्त गरेका थिए । साढे चार वर्षपछि भएको दोस्रो कार्यकालको निर्वाचनमा तिनै मनोजकुमार साह पााच दलिय सत्ता गठबन्धनका साझा उम्मेदबार निवर्तमान उपमहानगर प्रमुख लालकिसोर साह भन्दा पााच गुणा मतले अगाडि छन् ।

पञ्चायती शासनविरुद्ध २०४६/४७ सालको आन्दोलनपछि २०४९ सालमा भएको निर्वाचनमा पनि तत्कालिन जनकपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दिगम्बर रायलाई पराजित गरि वृषेशचन् लाल प्रमुखमा निर्वाचित भएका थिए । लाल कांग्रेस छाडेर बिद्रोही भएका थिए । त्यसको पााच वर्षपछि २०५४ सालमा भएको निर्वाचनमा पनि कांग्रेसबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका बजरंगप्रसाद साह पनि प्रमुखमा निर्वाचित भए । पञ्चायतकालमा दुईपटक जनकपुरको प्रधानपञ्चमा निर्वाचित भएका दामोदरप्रसाद उपाध्यायलाई कांग्रेसले टिकट दिएपछि बजंरगप्रसाद साह स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

२५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरको १ सय २७ पदका लागि मतगणना जारी छ । प्रमुखका लागि ३९ जना, उपप्रमुखका लागि २७ जना, वडाध्यक्षका लागि ३ सय ३४ जना र वडा सदस्यका लागि ६ सय भन्दा बढिले उम्मेदबारी दिएका छन् । मधेश आन्दोलनको रापतापका कारण २०७४ को निर्वाचनमा जनकपुरधाममा बलियो उपस्थीति देखाएका मधेश केन्द्रित दल भने २०७९ को निर्वाचनमा निकै कमजोर देखिएका छन् । मधेश केन्द्रित दललाई उछिन्दै वडाहरुमा कांग्रेस बलियो देखिएको छ भने कमजोर मानिएको एमालेले पनि केही प्रगति गरेको देखिन्छ ।