निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहँदा काठमाडौंका मुख्य चोक र गल्लीहरु फोहोरले दुर्गन्धित

जेष्ठ ३, २०७९
निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहँदा काठमाडौंका मुख्य चोक र गल्लीहरु फोहोरले दुर्गन्धित

स्थानीय तह निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहँदा संघीय राजधानी काठमाडौंका मुख्य चोक र गल्लीहरु फोहोरले दुर्गन्धित बनेका छन् । महानगरको चुनावमा दलहरुले सधैं मुख्य एजेण्डाका रुपमा फोहोर व्यवस्थापनलाई अघि सार्ने गर्छन् । तर व्यवस्थापनमा चुक्दा महानगरबासी सधैं फोहोरको दुर्गन्ध सहेर बस्न बाध्य छन् ।

काठमाडौका गल्लीमा फोहोर नउठेको दुइ हप्ता भयो । अहिले काठमाडौंबासीले घरमै फोहोर थन्काएर काममा निस्किन्छन् । घरमा फोहोर थन्काउन नसक्नेले सडकमा मिल्काएका छन् ।  महानगरको गाडी फोहोर उठाउन कहिले आउने हो एकिन छैन । अहिले फोहोर ब्यवस्थापन गर्ने निकाय नै चुनावी प्रतिस्पर्धामा कुदेकाले कसैको चासो देखिन्न । संघीय राजधानीनै दुई हप्तादेखि फोहोरले भरिँदा पनि महानगरपालिकाको स्थायी संयन्त्र भने रमिता बनेको छ । आम नागरिक मुख थुनेर हिड्न बाध्य छन् भने ब्यवस्थापन नगरेकोमा  त्यतिकै आक्रोशित भएका छन् । 

स्मार्ट सिटीको गफ दिएर भोट मागेका राज्य सन्चालकले कम्तिमा १० वर्षदेखि फोहोरको समस्या स्थायीरुपमा समाधान गर्न सकेको छैन । कहिले सिसडोलका स्थानीयले त कहिले मजदुरले हड्ताल गरेको बहानाले राजधानीबासीलाई फोहोरमा राखिएको छ । फोहोर व्यवस्थापन गरि शहर सफा राख्ने भन्दै चुनाव जिते पनि महानगर प्रमुख विद्यासुन्दर शाक्यले केही गर्न सकेनन् । त्यसैको चुनौतिका रुपमा दलहरुले अहिले नेतृत्वका लागि नयाँ पुस्तासँग कडा प्रतिश्पर्धा गर्नुपरिहरेको छ ।

राजधानीको फोहोर व्यवस्थापनको विषयमा दलका घोषणापत्रमा फोहोरबाट मोहोर सम्मका कुरा समावेश गरिएको छन् । तर अहिलेसम्म पनि शहरी फोहोर व्यवस्थानको दिगो उपाय पहिल्याउन सकेको देखिँदैन । प्रत्येक पटक हुने यस्ता निर्वाचनमा दलहरुले पटक पटक जनता ढाट्ने तर समाधानका काम भने कम गरेको पाइन्छ ।