२५६६ औं बुद्ध जयन्ती मनाइयो

जेष्ठ ३, २०७९
२५६६ औं बुद्ध जयन्ती मनाइयो

भौतिक विकास र शक्ति प्रद्धर्शनको होडबाजीले विश्व अहिले अशान्त बन्दै गएको छ । यो अशान्त परिस्थिति माझ आज भन्दा २५ सय ६६ वर्ष पहिले लुम्बिनीमा जन्मेका विश्व शान्तिका अग्रदुत गौतमवुद्धका उपदेश र जन्मस्थल लुम्बिनीको महिमा भने दिनदिनै बढ्दै गएको छ । 

कसैको काटमार नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु, सधै सदाचारी रहनु र जाड रक्सी नखानु वुद्धका पञ्चशील उपदेश हुन् । 

बुद्धले दुःखलाई नाश गर्ने र तृष्णा क्षय गर्ने सम्यक् संकल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि गरी अष्टांग मार्गको ज्ञान बाडेका थिए । 

राजकीय खानदान छोडेर शान्तिको खोजीमा हिडेका सिद्धार्थ गौतमले प्राप्त गरेका ज्ञान व्यक्तिको आत्मशान्ति, परिवार शान्ति, देश शान्ति र विश्व शान्तिकैलागि अपरिहार्य  छन् । यसैले होला विश्वका साढे दुई अरव वौद्ध धर्मावलम्बी मात्रै होइन अन्य धर्मावलम्बीले पनि वुद्धका उपदेशलाई दर्शन र व्यवहारीक कर्मका रुपमा मनन् गर्न थालेका छन् । 

बौद्ध ग्रन्थमा जीवनमा एक पटक भएपनि बुद्धजन्मस्थल पुगे पाप मोक्ष हुने र पुण्य कमाइने उल्लेख छ । यही भनाइबाट प्रभावीत बौद्ध धर्मावलम्बी मात्र होइन अन्य व्यक्ति समेत कोलाहल र अशान्तबाट शान्ति पाउन, वुद्धत्व प्राप्त गर्न र मन केन्द्रीत गरेर ध्यान योग गर्न लुम्बिनी आउने गर्छन् ।

शान्तिका अग्रदुत वुद्ध र शान्तिको मुहान लुम्बिनीलाई चम्काइ राख्न राज्यले लुम्बिनी गुरु योजनाको कामलाई तीव्रता दिनुपर्ने, आद्यात्मिक कि्रयाकलाप बढाउनुपर्ने र बौद्ध धर्मावलम्बी बढी भएका मुलुकमा सिधा हवाई मार्ग जोडेर सरकारले विशेष पर्यटन प्याकेज बनाउन आवश्यक देखिएको छ ।