हारजितको लेखाजोखा गरिरहेका मुख्य दलहरुका फरक फरक टिप्पणी

जेष्ठ २, २०७९
हारजितको लेखाजोखा गरिरहेका मुख्य दलहरुका फरक फरक टिप्पणी

अघिल्लो स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमालले यो पटकको अहिलेसम्मको परिणामलार्इ सहज रुपमा स्वीकार गरेको देखिदैन ।

 चुनाव अघि देश दौडाहा गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आलोचना मात्रै हैन, एक्लै जितेर देखाइदिने भन्ने गरेका थिए ।

 तर आफूले भनेजस्तो परिणामको संकेत नदेखेपछि एमालेले चुनावमा राज्यसत्ताको दुरुपयोग गरिएको आरोप लगाएको छ । 

जबकि यसबारे पनि उसले निर्वाचन हुँदा वा मतगणनाको दोश्रो दिनसम्म मुख खोलेको थिएन।

निर्वाचन परिणाम आफ्नो पक्षमा देखिएपछि नेपाली कांग्रेस भने उत्साही देखिएको छ । किनभने उसले एक्लै अहिलेसम्म जित र अग्रता दुबैमा एमालेलाई पछि पारेको छ । 

कांग्रेसले परिणामलाई सत्ता गठबन्धनकै सफलताका रुपमा अर्थाएको छ । 

सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्र पनि परिणाम प्रति खुसी नै देखिएको छ । 

पार्टी कमजोर हुँदा पनि आफ्नो विगतको शाख जोगिने देखिनुले माओवादीलाई केही राहत भएको छ । तर केही पालिकामा गठबन्धन हुँदा पनि आफ्नो पक्षमा त्यस अनुसार मत नपाएपछि उसले नेपाली कांग्रेस पुरै इमान्दार नभएको अर्थ लगाएको छ ।

गठबन्धनमै रहेका जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी भने गठबन्धन अनुसार मत नपाएको बुझाईमा छन् । 

आफ्ना उम्मेदवार गठबन्धनभित्रै भए पनि हार्नुपर्ने परिस्थिति बन्दै गएको प्रति जसपा र एकीकृत समाजवादी सन्तुष्ट देखिदैनन्। 

समग्रमा हेर्दा अहिलेसम्म सार्वजनिक भएको परिणाम भने गठबन्धनको पक्षमै देखिएको छ ।