आचार संहिताविपरितका ३३ वटा घटनामा आयोगले सोध्यो स्पष्टीकरण

वैशाख २१, २०७९
आचार संहिताविपरितका ३३ वटा घटनामा आयोगले सोध्यो स्पष्टीकरण

स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने विगतकै संस्कृतिलाई निरन्तरता दिएका छन् । चुनाव प्रसारका क्रममा अधिकांश दलले बालबालिकाको प्रयोग गर्ने, सार्वजनिक पदको दुरूपयोग गर्ने, सामाजिक सञ्जालको गलत प्रयोग गर्नेदेखि मतदातालाई सामान र पैसा बाँड्नेसम्मका गतिविधि गरेका छन् । आचारसंहिता उल्लंघन गरेको ३३ वटा घटनामा निर्वाचन आयोगले स्पष्टीकरण मात्र सोधेको छ । कसैलाई कारवाही भने गरेको छैन ।

 चुनाव प्रचारका क्रममा एमाले, कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले बालबालिकाको धेरै प्रयोग गरेका छन् । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानीय तहमा चुनाव प्रचारमा बालबालिकाको प्रयोग भएपछि निर्वाचन आयोगले सम्बन्धित दलसँग स्पष्टीकरण सोधेको छ । त्यसैगरी सार्वजनिक पमा बसेका व्यक्तिसमेत प्रचारमा सहभागी भएको उजुरी आयोगमा परेको छ । बहालवाला जनप्रतिनिधि, संवैधानिक आयोगका पदाधिकारी र शिक्षकसमेत पार्टीका कार्यक्रममा सहभागी भएको र विपक्षी उम्मेद्वारलाई अपशब्द प्रयोग गर्ने जस्ता आचारसंहिता विपरितका गतिविधि रोकिएका छैनन् । निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरूपयोग पनि निकै बढेको छ । एउटा दलले अर्को दललाई लक्षित गरेर बनाएका सामग्री सामाजिक सञ्चालबाट हटाउन आयोगले सम्बन्धित दललाई निर्देशनसहितको पत्राचार गरेको छ । आचारसंहिता बाहिर गएर आमसभा गरेको, मापदण्डविपरित प्रचार सामग्री बनाएको, निर्वाचन खर्चका बारेमा गलत अभिव्यक्ति दिएको बारेमा पनि आयोगमा उजुरी परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं ८ का एक उम्मेद्वारले त मतदाता प्रभावित पार्न साडी नै बाँडेको, रौतहटको भगवती गाउँपालिका वडा नं ५ का एक उम्मेद्वारले पैसा र पानीको पाइप बाँडेको पाइएको छ । आयोगले भने यी घटनाका उजुरीलाई तामेलीमा राखेको छ । तर मेलम्ची नगरपालिका वडा नं १० का अध्यक्षका एक उम्मेद्वारले मतदातालाई पैसा राखेर ढोगेको विषयमा भने आयोगले कारवाहीको प्रक्रिया अघि बढाएको छ । अझ पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोगको विषय त झन् चूनौतीपूर्ण बनेको छ । 

दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहितालाई ठाडै चुनौती दिइरहेका छन् । तर आयोगले आचार–संहिता उल्लंघन गर्नेहरुलाई स्पष्टीकरण सोध्नेबाहेक केही गर्न सकेको छैन । आचारसंहिता उल्लंघन गर्नेहरुलाई उन्मुक्ति दिँदा आगामी दिन आयोगकै लागि झन् चनौतीपूर्ण बन्ने देखिन्छ ।