निर्माण सामग्रीको मूल्य ३० प्रतिशतले बढ्यो, भौतिक पूर्वाधारका आयोजना प्रभावित

वैशाख २१, २०७९
निर्माण सामग्रीको मूल्य ३० प्रतिशतले बढ्यो, भौतिक पूर्वाधारका आयोजना प्रभावित

६ महिनाभित्रै डण्डीको मूल्य प्रतिकेजी ५० देखि ६० रुपैयाँले बढेको छ । गत मंसिरमा प्रतिकेजी ७० देखि ७५ रुपैयाा रहेको डण्डीको मूल्य अहिले १ सय ३० पुगेको छ । त्यस्तै सिमेन्ट प्रतिबोरा २ सय रुपैयाँले बढेको छ भने बालुवा र गिट्टी प्रति मिनीट्रक औसत ४ देखि ५ हजारले बढेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । छोटो समयमै निर्माण सामग्रीको मूल्य अचाक्ली बढेपछि ४ कोठा भएको घर बनाउ विगतको तुलनामा ८ देखि १० लाख रुपैयाँ बढी लाग्ने भएको छ । 

निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि त्यसको मारमा साना निर्माण व्यवसायी पनि परेका छन् । निर्माण सामग्रीको मूल्य अनुसार लागत बढ्दा लिएको काम सक्नै व्यवसायीलाई हम्मे हम्मे परेको छ । 

बाह्‍य क्षेत्रलाई कारण देखाउादै व्यवसायीले निर्माण सामग्रीको मूल्य बढाएका छन् । अन्तर्राष्ट्रिय बजारमा कोईलाको मूल्य वृद्धि भएपछि त्यसको असर सिमेन्ट उद्योगमा परेको भन्दै सिमेन्टको मूल्य बोरामै दुई सय रुपैयाँले बढाएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा स्टिल र आइरनको मूल्य बढेपछि नेपालमा पनि मूल्य अकासिएको हो । निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि आयोजनाको लागत बढदै गएको छ । ठूला आयोजनामा लागतको १५ प्रतिशत डिजलमा खर्च हुने हुँदा पछिल्लो समय डिजलको मूल्यमा भएको वृद्धिले आयोजनाको लागत थप १५ प्रतिशतले बढेको छ ।

रुस-युक्रेन युद्धका कारण आपूर्तिमा समस्या आएपछि सडक कालोपत्रे गर्न प्रयोग गरिने अलकत्राको मूल्य प्रतिकेजी ६० देखि ६५ रुपैयाँले बढेर १ सय २० रुपैया पुगेको छ ।