चैतभित्रै सबैलाई खोप उपलब्ध गराउने योजना योजनामै सीमित

वैशाख १५, २०७९
चैतभित्रै सबैलाई खोप उपलब्ध गराउने योजना योजनामै सीमित

नेपालमा हालसम्म कुल जनसंख्याको ७६ दशमलव २ प्रतिशतले कोरोनाविरुद्धको खोपको एक मात्रा र ६७ प्रतिशतले पूर्ण मात्रा पाएका छन् । अझै पनि ३३ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छैनन् भने २३ प्रतिशत नागरिक खोपको पहुँचभन्दा बाहिर छन् । लक्षित जनसंख्याकै १६ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छैनन् । सरकारले चैतसम्म ५ देखि १२ वर्ष भित्रका बालबालिकालाई दिइसक्ने भनेको खोप पनि अझै ल्याउन सकेको छैन । त्यति मात्र होइन, चैतसम्म लक्षित जनसंख्या सबैलाई खोप दिइसक्ने लक्ष्य अधुरै छ । तर सरकारको भनाइ चाहिँ फरक छ ।

अहिलसम्म नेपालमा कोभिडको ५ करोड ३३ लाख ८१ हजारभन्दा बढी मात्रा खोप आएकोमा ४ करोड १५ लाख ५९ हजार मात्रा खपत भइसकेको छ । १ करोड १८ लाख २२ हजार २ सय १५ डोज बाँकी छ । खोप लगाउने मान्छेनै नआएको भनेर पन्छिनुभन्दा सरकार नै नागरिकको घरघरमा पुग्नुपर्ने विज्ञ बताउँछन् ।

ठुलो जनसंख्या खोप लगाउनबाट बञ्चित भइरहेकै बेला चुनावी चहलपहल सुरु भएको छ । यस्तो अवस्थामा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ । अझ खोप नलगाएकाहरुमा कोभिडको असर बढी हुनु त छँदै छ त्यसमाथी उनीहरुबाट नयाँ भेरियन्टको जोखिम पनि उत्तिकै छ । यस्तो बेला सबैले पूर्णमात्रा खोप लगाउने मात्र होइन स्वास्थ्य मापदण्ड पालनामा पनि सतर्कता अपनाउनुपर्छ ।

सरकारले पहिलो प्राथमिकतामा राखे पनि खोप दिन संवेदनशील देखिएको छैन । त्यसमाथी चुनाव नजिकिइरहेका बेला घरघरमा पुगेर खोप लगाउने अभियानलाई तीव्र बनाउन चुक्दै गएको छ ।