व्यापार घाटा थेग्नै नसक्ने गरी बढेपछि कृषि बजेट बढाउने तयारी

वैशाख ११, २०७९
व्यापार घाटा थेग्नै नसक्ने गरी बढेपछि कृषि बजेट बढाउने तयारी

मुलुकको व्यापार घाटा थेग्नै नसक्ने गरी बढेपछि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राख्ने भएको छ ।  व्‍यापार घाटा कम गर्न अत्यावश्यक बाहेकका वस्तु रोक्न नसकेपछि सरकारले कृषिजन्य उत्पादन बढाउनुलाई विकल्प मानेको हो । 

भन्सार विभागको शुक्रबार सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ९ महिनामा मात्र १५ अर्ब ५ करोड रुपैयाँको मकै र १५ अर्ब २२ करोडको धान आयात भएको छ । त्यस्तै २४ अर्बको चामल, ५ अर्ब ३० करोडको गहुँ, १ अर्ब ७१ करोड रुपैयाँको केरा, ६४ करोडको कागती आयात भएको देखिन्छ । यसरी हेर्दा नेपालमै उत्पादन गर्न सकिने ३ खर्ब २० अर्ब रुपैयाँसम्मको वस्तु वर्षभरिमा आयात हुने गरेको छ । उपभोक्ताले खोजे अनुसारको उत्पादन र परिमाण स्वदेशमै उत्पादन गर्न नसकिँदा आयात बढेको हो । 

व्यापार घाटा कम गर्न कृषिजन्य वस्तुको उत्पादन बढाउन र आयात कम गर्न अर्थ मन्त्रालयले सुझाव पाइरहेको छ । त्यही भएर अर्थले आगामी बजेटमै कृषिलाई विशेष प्राथमिकता दिने तयारी गरेको हो । अर्थको योजनाअनुसार कृषि मन्त्रालयले पनि उत्पादन बढाउँदै आयात न्यूनीकरण गर्ने कार्यक्रम बनाउँदै छ । 

त्यसो त कृषिमा बजेट नै नबढेको भने होइन । १० वर्ष अघि १२ अर्ब ४३ करोड रहेको कृषिको बजेट अहिले ४५ अर्बभन्दा धेरै छ । तर सो अनुपातमा उत्पादन बढ्न नसक्दा परनिर्भरता बढेको हो ।