विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशक पुग्न लाग्दा पनि नेपालले लाभ लिन सकेन

वैशाख १०, २०७९
विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशक पुग्न लाग्दा पनि नेपालले लाभ लिन सकेन

नेपालले विश्व व्यापार संगठन डब्लुटीओमा प्रवेश गरेको १८ वर्ष पुरा भएको छ । सन् २००४ अप्रिल २३ मा डब्लुटीओको सदस्यता लिँदा नेपालको व्यापार घाटा ८२ अर्ब रुपैयाँ थियो । तर १८ वर्षमा यो बढेर १४ खर्ब हाराहारी पुगेको छ । त्यसबेला बार्षिक १ खर्ब ३६ अर्बको वस्तु आयात हुँदा ५४ अर्बको वस्तु निर्यात हुने गरेको थियो । नेपालले सदस्यता लिए यता आयात ११ गुणाले वृद्धि भएको छ भने निर्यात दोब्बर पनि भएको छैन । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बस्तु उत्पादन गर्न नसक्दा नेपालले लाभ लिन नसकेको हो ।

विकासोन्मुख राष्ट्रका उत्पादनलाई भन्सार छुट दिएर विश्व बजारमा प्रवेश गराउनु डब्लुटीओको मर्म हो । यसैको फाईदा उठाउँदै भारत, चीन, बंगलादेशलगायतका देशले विश्व व्यापारमा बलियो पकड बनाए पनि नेपालको अवस्था खस्किँदो छ । नेपाल विश्व व्यापारमा प्रदेश गर्दा कुल गार्हस्थ उत्पादनमा १४ प्रतिशत योगदान रहेको उद्योग क्षेत्र अहिले घटेर ४ प्रतिशतमा सीमित भएको छ । 

राज्यले निजी क्षेत्रलाई उपेक्षा गर्दा नेपाली वस्तुले गुणस्तर, मूल्यलगायतमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न नसकेको हो । कतिसम्म भने छिमेकी देश चीन, यूरोपेली मुलक र अमेरिकासम्मले हाम्रा उत्पादनको निकासीमा शून्य भन्सारको सुविधा दिँदासमेत त्यसको उपभोग भएको छैन । अब पनि रैथाने वस्तुको उत्पादन बढाउन नसक्ने हो भने डब्लुटीओमा प्रवेशको कुनै सार्थकता हुने छैन ।