कोरोना संक्रमणको सम्भावित जोखिमसँग जुध्न सरकारी तयारी फितलो

वैशाख ६, २०७९
कोरोना संक्रमणको सम्भावित जोखिमसँग जुध्न सरकारी तयारी फितलो

भारतमा कोभिडको संक्रमण दर बढेको दुई सातापछि नेपालमा पनि संक्रमितको संख्या बढ्ने विगतको अनुभव छ । केहि दिनयता भारतमा संक्रमित दैनिक रुपमा बढ्दै गएका छन् । हाम्रोमा संक्रमण बढ्न नदिन नाकाहरुमा तयारी र बढिहाले अस्पतालमा उपकरण तथा जनशक्तिहरुको अवस्था कस्तो छ ? 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा  १ हजार ८ भेन्टिलेटर छन् । यसैगरी २७ सय ९७ आइसीयु छन् भने  एचडियुको संख्या ३८ सय ४६ छ । संक्रमण दर बढ्न सक्ने आसन्न परिस्थितिका लागि  तयारी गरिएको दाबी सरकारको छ । 

तर, वास्तविकता भने अर्कै छ । पाल्पा अस्पतालमा  तीन करोड रुपैयाँको बजेटमा जडान भएका दुई  भेन्टिलेटर र पाँच आइसियु  दक्ष जनशक्ति नभएकाले प्रयोगविहीन छन् । 

उता, रुकुम पश्चिमको जिल्ला अस्पतालमा पनि दुई वटा भेन्टिलेटर जनशक्तिकै अभावमा सञ्चालनमा आउन सकेको छैन । अक्सिजन प्लान्ट जडानका लागि असारमा ल्याइएको मेसिन अझै सिलबन्दी गरिएकै अवस्थामा ग्यारेजमा थन्किएको छ । 

उपकरण र जनशक्तिको अभाव त छँदैछ । भारतसँगको सीमा नाकामा सतर्कता पनि अपनाइएको छैन । वीरगन्जको सीमावर्ती रक्सौल बजारबाट हुने निर्वाध आवातजावत कायमै छ । सुदूरपश्चिमकको गौरीफन्टा नाकाबाट दैनिक करिव ४ सय मानिस आउने गरेकोमा आधाको मात्र स्वास्थ्य परीक्षण हुने गरेको छ । बिराटनगरको रानीनाकाबाट आवतजावतमा समेत स्वास्थ्य सतर्कता अपनाइएको छैन ।

भारतमा कोभिड बढ्दै गएकाले नेपालमा पनि बढ्ने सम्भावना छ । अहिलेबाटै सतर्कता नअपनाउने हो भने विगतको जस्तै अवस्था नआउला भन्न सकिँदैन ।

आइसीयु, भेन्टिलेटरलाई पनि सञ्चालन गर्न आवश्यक जनशक्ति अहिलेनै व्यवस्था गर्नुपर्ने छ । हैन भने सामग्री भएर पनि तयारीमा ध्यान नदिँदा यसअघिका लहरमा झैँ संक्रमित अवस्थासँग जुध्न हम्मेहम्मे नहोला भन्न सकिँदैन ।