गम्भीर प्रकृतिका बिरामीलाई मासिक ५ हजार

चैत्र २२, २०७८
गम्भीर प्रकृतिका बिरामीलाई मासिक ५ हजार

सरकारले गम्भीर प्रकृतिका बिरामीलाई मासिक ५ हजार रुपैयाँ दिने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसका लागि कार्यविधिसमेत बनाइएको छ । तर सरकारसँग यस्ता प्रकृतिका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । चार वर्ष अघि पनि सरकारले यस्तो रकम वितरण सुरु गरेको थियो । तर निरन्तरता दिन सकेन ।

सरकारले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,  क्यान्सर रोगी र मेरुदण्ड पक्षघात जस्ता गम्भीर प्रकृतिका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यविधि २०७८ जारी गरेको छ ।  औषधि उपचार गर्न नसक्नेहरुलाई विपन्न परिचयपत्र वा स्थानीय तहको सिफारिसका आधारमा रकम दिइनेछ । तर नेपालमा यस्ता बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क भने सरकारसँग छैन ।

नसर्ने रोगका बिरामीलाई औषधि उपचार बापत रकम उपलब्ध गराउने यो पहिलो कार्यविधि भने हैन । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको अघिल्लो कार्यकालमा अर्थात २०७४ सालमा पनि मृगौला रोग, क्यान्सर, स्पाइनल पेरेलाइसीस भएका बिरामीलाई जिविकोपार्जन भत्ता दिन कार्यविधि जारी भएको थियो । त्यसबेला क्यान्सर, मृगौला तथा मेरुदण्डको समस्या भएकालाई जिविकोपार्जन भत्ता भन्दै १ पटक ५ हजार बाँडिएको थियो । तर त्यसपश्चात रकम अभावलगायतका समस्या देखाउँदै रकम बाँडिएन । अहिले चुनावको मुखमा आएर बिना गृहकार्य रकम बाँड्ने घोषणा गरिएको विज्ञ बताउँछन् ।

समयमै पहिचान गर्न नसक्दा नसर्ने रोगका कारण मानिसहरु ज्यानै गुमाउन समेत बाध्य छन् । यस्तो अवस्‍थामा एउटा सरकारले सहयोग घोषणा गर्ने र अर्को सरकार आएपछि त्यसलाई निरन्तरता नदिने गर्दा बिरामी समस्यामा पर्ने गरेका छन् । यसलाई व्यवस्थित गर्दै सबै स्थानीय तहमा सहज उपचार सेवा पुर्याउन जरुरी छ ।