एक वर्षमा आधाले पनि पूर्ण मात्रा खोप पाएनन्

माघ १४, २०७८
एक वर्षमा आधाले पनि पूर्ण मात्रा खोप पाएनन्

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष भएको छ । यो एक वर्षको अवधिमा सरकारले खोपमा केही उपलब्धि हासिल गरे पनि अझै धेरै नागरिक खोपबाट बञ्चित छन् ।

नेपालमा अहिलेसम्म ४ करोड २० लाख ४९ हजारभन्दा बढि कोरोनाविरुद्धको खोप आएको छ । खोप अभियान सुरु भएको एक वर्षको अवधिमा ३ करोड ६ लाखभन्दा बढि खोप खपत भएको सरकारी तथ्याङ्क छ । यो हिसावले जनसंख्याको ५४ दशमलब २ प्रतिशतले एक मात्रा र ४५ दशमलव ५ प्रतिशतले खोपको दुवै मात्रा पाएका छन् । १२ देखि १८ वर्षका मात्र १८ लाख ७२ हजार ६ सय ७० जनालाई खोप लगाइएकोमा ३ लाख ५८ हजार २ सय ९८ जनाले पूर्णमात्रा पाएका छन् । २ लाख ९६ हजार ९ जनालाई अतिरिक्त मात्रा दिइएको छ । तर अझै पनि १ करोड २५ लाखभन्दा बढी जनसंख्या खोपको पहुँच भन्दा बाहिर छन् । 

सरकारले चैतसम्म सवैलाई खोप दिने भने पनि अहिलेकै गतिमा गएमा त्यो सम्भव नहुने विज्ञ बताउँछन् । अझ सरकारले व्यवस्थापनमा ध्यान नदिँदा कतिपय व्यक्ति खोपको पहुँच बाहिर रहेको उनीहरुको भनाइ छ ।

सरकारले अहिले अग्रपंक्तिमा काम गर्नेलाई र ६० वर्ष माथिकालाई अतिरिक्त खोप दिन सुरु गरेको छ । तर यसो भन्दैमा पहिलो मात्रा नै नपाउनेहरुलाई खोपबाट बन्चित गर्नु हुँदैन । खोपको समान पहुँच र वितरणको व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्छ ।