कोरोनाले पर्वतका साहसिक खेल गतिविधि प्रभावित 

माघ १४, २०७८
कोरोनाले पर्वतका साहसिक खेल गतिविधि प्रभावित 

करोडौंको लगानीमा पर्वतमा निर्माण भएका साहसिक खेलका संरचना जुर्मुराउन नपाउादै फेरि सुनसान भएका छन् । कोरोना महामारीका कारण साहसिक खेल गतिविधिमा कमी आउँदा संरचना प्रयोगमा नआएका हुन् । जसले पर्वतको पर्यटन क्षेत्र प्रभावित मात्रै भएको छैन, करोडौं लगानीमा सुरु गरिएका व्यवसाय पनि ठप्प भएका छन् ।

पर्वतमा करिव १ वर्ष अघि निर्माण सम्पन्न भएको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प र विश्वकै अग्लो स्विङ सागै हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विश्वकै दोश्रो लामो दावी गरिएको जीपलाइन सुनसान छन् । पछिल्लो समय सदरमुकाम कुश्मा बजारको व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संरचनालाई कोरोनाले समस्यामा पारेको हो । पाँच वर्षको अवधिमा २८ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको बञ्जी जम्प सञ्चालन यता कोरोना महामारी फैलिएको थियो ।

१५ करोड लगानीमा हालै  सञ्चालनमा आएको जीपलाईन पनि कोरोनाको चपेटामा परेको छ । अंग्रेजी नयाँ वर्षको आगमनसागै सञ्चालन शुरु गरिएको जीपलाईन सञ्चालन भएको केही दिनमा नै बन्द अवस्थामा पुगेको छ । 

१० वर्ष अघिदेखि सञ्चालनमा आएको कुश्मा बलेवा यान्त्रिक पुलसँगै छिमेकी जिल्ला जोड्ने गरी बनेका अग्ला र लामा झोलुङ्गे पुलमा समेत पर्यटकको चाप घटेको छ । एकातिर बजार क्षेत्रको चहलपहल घट्नु अर्कातिर पर्यटन क्षेत्र प्रभावित हुँदा होटल व्यवसाय पनि मारमा छन् ।

पर्वतका गाउँगाउँमा सञ्चालित होमस्टेसमेत कोरोनाका कारण प्रभावित बनेका छन् ।