सल्यानमा सुन्तलाको उत्पादन घट्दै

माघ १४, २०७८
सल्यानमा सुन्तलाको उत्पादन घट्दै

सल्यान जिल्लामा सुन्तला खेतीमा सरकारी लगानी बढदै गएको छ । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकोले यसतर्फ किसानको आकर्षण पनि बढेको थियो । तर विभिन्न रोगका कारण दुई बर्ष यता सुन्तला उत्पादन भने घटदै गएको छ ।

व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिकाका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट सिजनका बेला नै धमाधम सुक्न थालेपछि कृषक हैरान भएका छन् । 

सल्यानमा करिब ९ सय किसानले व्यवसायीक रुपमा सुन्तला खेति गर्दै आईरहेका छन । जसबाट कृर्षकले वर्षेनी ३० देखि ४० करोड रुपैयाँसम्मको सुन्तला बेच्दै आईरहेका छन् । तर उपचार नै नभएको ग्रिनिङ, सिटासिल्ला रोग फैलिन थालेपछि सल्यानमा सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । सुन्तलाका हाँगा सुक्ने, जरा कुहिने तथा फलसमेत राम्रो र उत्पादन दिन नसक्ने लगायतको समस्या देखिएको हो । 

  

सल्यानका बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, कपुरकोट लगायतका स्थान सुन्तलाका पकेट क्षेत्र हुन् । जिल्लामा झण्डै एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ ।  

गत वर्ष जिल्लाभर ७ हजार ४ सय ८३ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष भन ६ हजार ८ सय ८५ मेट्रिकटन मात्र सुन्तला उत्पादन भएको छ । गत सालको तुलनामा झन्डै ३३ प्रतिशतले सुन्तला उत्पादन घटेको छ ।