दलीय स्वार्थ बाझिदा राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा दलहरु विभाजित

माघ २, २०७८
दलीय स्वार्थ बाझिदा राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा दलहरु विभाजित

राज्यका सबै निकाय अहिले अस्थिर जस्तै बनेका छन्। व्यवस्थापिका र न्यापालिकाका कामकारवाही नै प्रभावित छन् । कार्यपालिकाले पनि सन्तोषजनक काम गर्न सकेको छैन । सीमा तथा अन्य अन्तर्राष्ट्रिय विषयमा समेत गम्भीर हुनुपर्ने मुख्य दलहरु भने सत्ता स्वार्थकै खेलमा रुमल्लिएका छन् । 

अवरुद्ध संसद सुचारु, न्यायालयभित्रको विवाद समाधान, नागरिकता, निजामति कर्मचारी लगायतका अति आवश्यक कानुन निर्माणका लागि दलहरु तत्काल एक ठाउँमा उभिनुपर्ने हो । अमेरिकी अनुदान सहयोग सम्वन्धी सम्झौता एमसीसी टुङ्गोमा पुर्याउन जति ढिला गर्यो त्यति समस्या भैरहेको छ । नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाइरहँदा दलहरुको साझा धारणा र कुटनीतिक समाधानमा सरकार सक्रिय हुनुपर्ने हो ।  तर राष्ट्रिय महत्वका विषयमा सत्ता पक्ष र विपक्ष जहाँ भएपनि प्रमुख दलहरु न एक ठाउँमा छन् नत समाधानका लागि सत्ता गठबन्धन र सरकार कै अग्रसरता छ । 

दल विशेष वा सत्ता स्वार्थ मिल्यो भने उनीहरु मिलिहाल्छन् । भागवण्डा मिल्दा के सत्ता पक्ष, को प्रतिपक्ष । तर देश र जनताका मुद्दा र हितमा भने आरोप प्रत्यारोप मात्रै चल्दैन, विधि र पद्दती लत्याएर आफ्ना अडान छाड्दैनन् । आफू माथि पर्न महिनौं मोलतोल चलिरहन्छ ।  

राष्ट्रिय हितका महत्वपुर्ण विषयमा दलहरुले गरिरहेको खेलाँचीले राजनीतिक अपरिपक्ता मात्रै दर्शाउँदैन । सुशासनसँगै राष्ट्रियतालाई कमजोर बनाउँछ । त्यसैले कम्तिमा राष्ट्रिय महत्वका मुद्दामा र लोकतान्त्रिक पद्दतीलाई संस्थागत गर्न राजनीतिक दलहरु एक ठाउँमा उभिनु आवश्यक छ ।