दशकदेखि अवरुद्ध भ्रातृ संस्थाको अधिवेशनमा कांग्रेस नेतृत्वको अनिच्छा

माघ १, २०७८
दशकदेखि अवरुद्ध भ्रातृ संस्थाको अधिवेशनमा कांग्रेस नेतृत्वको अनिच्छा

कांग्रसेका १३ भ्रातृ संगठन र १७ शुभेच्छुक संस्थामध्ये अधिकांस नेतृत्वविहीन छन् । २०७२ साल यता कुनै पनि भ्रातृ संस्थाको अधिवेशन भएको छैन । महिला संघको अधिवेशन त झन् २०६४ सालपछि भएकै छैन । २०७२ सालमा अध्यक्षले नेतृत्व हस्तान्तरण गरे यता तरुण दलको पनि अधिवेसन भएको छैन भने राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १२ वर्षदेखि नयाँ नेतृत्व छान्न सकेको छैन । भ्रातृ संस्थाको अधिवेशन गराउनु पार्टी नेतृत्वको जिम्मेवारीमा पर्छ । तर कतिपय संस्थाको अधिवेशन नभएको दशक वितिसक्दा पनि नेतृत्वले चासो दिएको छैन ।

नेविसंघ, तरुण दल, महिला संघ, नेपाल दलित संघ, मुस्लिम संघ नेतृत्वविहीन छन् । यी संस्थाको नेतृत्वमा रहेकाहरु पार्टी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । तल्लो तहबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पद स्वतः रिक्त हुने व्यवस्था विधानमा छ । तर पार्टी महाधिवेशन सकिएको एक महिना पुग्नै लाग्दा पनि यो विषयमा कुनै छलफल भएको छैन । 

सभापति शेरबहादुर देउवाले आफ्नो अघिल्लो कार्यकालमा धेरै भ्रातृ संस्थालाई सक्रिय बनाउन सकेका थिएनन् । पार्टी गतिविधि चलायमान गराउने भ्रातृ तथा सुभेच्छुक संस्थाले नेतृत्व नपाउँदा पार्टीका गतिविधि अहिले पनि सीमित जस्तै भएका छन् ।