स्थानीय तह निर्वाचनलाई लिएर दलहरुका आ-आफ्नै स्वार्थ

माघ १, २०७८
स्थानीय तह निर्वाचनलाई लिएर दलहरुका आ-आफ्नै स्वार्थ

निर्वाचन आयोगले स्थानीय तहको चुनाव गर्ने प्रस्ताव गरे पनि सरकारले अहिलेसम्म छलफल नै अगाडि बढाएको छैन । गठबन्धनमा आबद्ध दल वैशाखमा चुनाव गर्ने मनस्थितिमा छैनन् । उनीहरुले संविधान र ऐन बाझिएकाले दलीय सहमति जुटाएर मात्र उपयुक्त समयमा मिति घोषणा गर्नुपर्ने बताएका छन् । दलीय सहमति जुटाएर कानुनमा शंसोधन गरी तीनै तहको चुनाव एकै पटक गर्ने मनसाय गठबन्धनको छ ।

गठबन्धनमा आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी वैशाखमा चुनाव गर्न नहुने पक्षमा खुलिसकेका छन् । उनीहरुकै दबाबका कारण कांग्रेस वैशाखमा चुनाव नगराउने पक्षमा देखिए पनि खुलेर बोल्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले भने निर्वाचन आयोगको प्रस्ताव अनुसार स्थानीय तहको चुनाव बैशाखभित्रै हुनुपर्ने भनेको छ । गठबन्धनका दलहरूले कानून शंसोधन गरी तीनै तहको चुनाव एकै पटक गरे क्षति ब्यहोर्नुपर्ने आंकलन गरेको एमालेले स्थानीय निर्वाचन ऐन अनुसार चुनाव हुनुपर्नेमा वकालत गरिरहेको छ । 

निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोक्ने काम सरकारको हो । आयोगको प्रस्तावलाई व्यवस्था गरिरहेको गठबन्धन सरकारले अहिलेसम्म अरु दलसँग छलफलसमेत नगर्दा स्थानीय तहको चुनाव कहिले हुन्छ भन्नेमा अन्योल हुँदै गएको छ ।