घोडचढी खेल : न आफ्नै घोडा, नत खेलाडी

पुस २९, २०७८
घोडचढी खेल : न आफ्नै घोडा, नत खेलाडी

नेपालमा, इक्वेस्ट्रियन अर्थात घोडचढी खेल कहिलेबाट सुरु भयो यकिन छैन । राष्ट्रिय खेलकुद परिषदमा २०६७ सालमा नविकरण भएपछि मात्रै संघ सक्रिय भएको हो । ६ वर्षको प्रयासपछि यसैपालि एसियाली इक्वेस्ट्रियन महासंघको सदस्यता पाएको संघलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने बाटो खुलेको छ। तर संघसँग न आफ्नै घोडा छन्, न त खेलाडी ।  तैपनि संघले यसै वर्ष चीनमा हुने एसियाली खेलकुद छनोटको तयारी थालेको छ । 

बेल्जियममा नोभेम्बरमा भएको एशियाली इक्वेस्ट्रियन महासंघको साधारणसभाले नेपाललाई सदस्यता दिने निर्णय गरेको थियो । त्यसपछि एसियाली र ओलम्पिक संघमा समावेश भयो । अहिले संघले एसियाली खेलकुद २०२२ को छनोटको तयारी गर्दैछ। तर आफ्नै पूर्वाधार र खेलाडी नहुँदा घोडचढी संघले विभागीय क्लब आर्मीको भर पर्नुको विकल्प छैन । खेलाडी पनि आर्मीकै छन्v । अरु खेलभन्दा महंगो र जनावरसँग जोडिएकोले घोडचढी खेललाई संवेदनशील समेत मानिन्छ । 

संघले नेपाली सेनाकै सहयोगमा काठमाडौं र पोखरामा वर्षमा दुईवटा प्रतियोगिता गर्थ्यो । तर कोरोना महामारीका कारण तीन वर्षदेखि त्यो पनि रोकिएको छ । नेपालमा विशेषगरि टेन्ट पेगिङ, सो जम्पिङ र हाइ जम्पिङमा प्रतिस्पर्धा हुने गरेको छ। अहिले पनि खेलाडीहरु आर्मीकै आन्तरिक अभ्यासमा भने छन् । 

२०६८ सालमा श्रीलंकामा भएको पहिलो दक्षिण एसियाली बीच खेलुकदमा नेपालले ५ वटा स्वर्ण समेत जितेको थियो । त्यसैले घोडचढी खेललाई व्यवसायिक बनाउँदै अन्तराष्ट्रिय प्रतिष्पर्धामा जान नेपाललाई अवसर पनि छ । तर त्यसका लागि  खेलाडीदेखि पूर्वाधार विकासमा संघ आफैं बलियो हुनु आवश्यक छ  ।