राप्रपा नेतृत्वमा पुस्तान्तरण: नवनिर्वाचित अध्यक्ष लिङ्देनका चुनौती

मंसिर १९, २०७८

२०६३ सालको राजनीतिक परिवर्तनपछि संघीय गणतन्त्र र धर्मनिरपेक्षता संस्थागत भएपनि संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई राजनीतिक मुद्दा बनाएको राप्रपाको नेतृत्वमा पुस्तान्तरण भएको छ। कमल थापाको एकछत्र राज अन्त्य गर्दै नेता राजेन्द्र लिङदेन राप्रपाको नेतृत्व  सम्हाल्न आइपुगेका छन् । राजनीतिक एजेण्डा र परिस्थितिले लिङदेन चुनौतिमुक्त छैनन् । तर उनको विजयले दलहरुमा शक्तिको विरासत तोडेर नेतृत्व गर्न युवा सक्षम छन् भन्ने देखाएको छ। 

राप्रपाको नेतृत्वमा दोहोरिन कमल थापाले हरसम्भव प्रयास गरेका थिए । तर थापाले काँचो र असक्षम घोषणा गरेका राजेन्द्र लिङदेनलाई राप्रपाका कार्यकर्ताले पत्याए । पञ्चायतकालकै राजनीतिका चतुर खेलाडी तथा १३ बर्षदेखि राप्रपामा हावी थापालाई हराएर अध्यक्ष जित्नु लिङ्देनका लागि चानचुने कुरा हैन । त्यसो त संवैधानिक राजतन्त्र र हिन्दू राज्यको एजेण्डामा कट्टर मानिने लिङ्देनका चुनौती पनि कम छैनन् ।

अध्यक्षमा पराजित थापा पञ्चायतदेखि संघीय गणतन्त्रसम्म सधैजसो सत्ताकै वरिपरि रहे । त्यस्ता कैयौं घटनाक्रम छन, जसलाई थापाले सत्ता र शक्तिका लागि उपयोग गरे । अहिले पार्टीको नेतृत्व परिवर्तनलाई त्यसैको परिणाम मान्छन् राप्रपाकै नेताहरु । 

चुनाव हारेपछि थापाले आफ्ना त्रुटीहरुको समिक्षा गर्नुपर्नेमा आफ्ना प्रतिष्पर्धी लिङदेनलाई जिताउन निर्मल निवासले ठाडो हस्तक्षेप गरेको सार्वजनिक रुपमै आरोप लगाएका छन् । यो राप्रपाको आन्तरिक कुरा रह्यो । तर थापाको पराजय र लिङ्देनको उदयबाट अरु दलले सिक्नुपर्ने कुरा पनि छन् । त्यो भनेको विरासत सधै टिक्टैन, प्रष्ट एजेण्डा र नयाँ पुस्ताको भावना बुझ्नैपर्छ भन्ने हो ।  

राप्रपाको नेतृत्वमा थापाको हार र लिङ्देनको जीतलाई संवैधानिक राजतन्त्र र हिन्दू राज्यको मुद्दामा को कति कट्टर भन्ने बिषयसँग पनि जोडन् सकिएला । तर स्वच्छ प्रजातान्त्रिक अभ्यास र नयाँ पुस्ताको उदय अरु दलहरुका लागि सन्देश हो ।